
०१ मंसिर, काठमाण्डौ । अर्थमन्त्री रामेश्वरप्रसाद खनालले निजी क्षेत्रको सुरक्षा मजबुत बनाउन सरकार पूर्ण रूपमा प्रतिबद्ध रहेको बताउनु भएको छ ।
राष्ट्रिय कर दिवस–२०८२ का अवसरमा आन्तरिक राजस्व विभागले काठमाडौमा आयोजना गरेको कार्यक्रममा अर्थमन्त्री खनालले ‘जेनजी आन्दोलन’ले निजी क्षेत्रलाई त्रसित बनाएको अवस्थाप्रति चिन्ता व्यक्त गर्दै जेनजी आन्दोलनले देखाएको असन्तुष्टि केवल सरकार वा राजनीतिक दलप्रति मात्र नभई समग्र समाज र निजी क्षेत्रप्रतिको आक्रोशका रूपमा समेत प्रकट भएको उल्लेख गर्नु भयो ।
अर्थमन्त्री खनालले निजी क्षेत्रको सुरक्षा सुनिश्चित गर्ने दायित्व सरकारको पहिलो प्राथमिकतामा रहेको उल्लेख गर्दै सरकारले सुरक्षाको पूर्ण प्रत्याभूति गर्छ भन्नुभयो ।
अर्थमन्त्री खनालले इमानदार व्यवसायीलाई अनावश्यक झमेला हुने पूर्ण लेखापरीक्षण अब नहुने बताउँदै कर प्रणाली सुधार गर्नुपर्ने आवश्यकता औँल्याउनुभयो ।
अर्थसचिव घनश्याम उपाध्यायले अहिले रोजगारी केन्द्रित लगानी बढाउन आवश्यक रहेकामा जोड दिनुभयो ।
राजस्व सचिव भूपाल बरालले राजस्व लक्ष्य हासिल गर्न चुहावट नियन्त्रण, प्रशासन सुधार, करदातासँग समन्वय र सूचना प्रविधि तथा कृत्रिम बुद्धिमत्ताको प्रयोग अत्यावश्यक रहेको बताउनुभयो ।
कार्यक्रममा नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष चन्द्रप्रसाद ढकालले जेनजी आन्दोलन पछि निजी क्षेत्रमा अनावश्यक हस्तक्षेप गर्ने, व्यवसाय बिगार्ने र आक्रमणमा संलग्न व्यक्तिहरूमाथि कडा कारबाही गर्न सरकारको ध्यानाकर्षण गराउनुभयो ।
मा प्रकाशित