मुलुकको अर्थतन्त्र बिस्तारै सुधारको लयमा फर्किएको छ : गभर्नर पौडेल

आर्थिक परिवेश

०५पुष,काठमाण्डौ ।   नेपाल राष्ट्र बैंकका गभर्नर डा.विश्व पौडेलले बैङ्कहरूलाई साना र पहुँचविहीन समुदायसम्म कर्जा पुयाउन तथा निजी क्षेत्रसँगको सम्बन्ध सुमधुर बनाउन निर्देशन दिनुभएको छ ।

वीरगञ्जमा आयोजित अन्तरक्रिया कार्यक्रममा गभर्नर डा.पौडेलले अर्थतन्त्रमा स्रोतको कमीभन्दा पनि आत्मविश्वास र मनोबलको कमी देखिएको बताउनु भयो ।

मुलुकको अर्थतन्त्र बिस्तारै सुधारको लयमा फर्किएको र यातायात पूर्वाधार र विद्युत् क्षेत्रमा लगानी बढिरहेकाले आत्तिनुपर्ने अवस्था नरहेको गर्भनर पोडेलले बताउनु भयो ।

गभर्नर डा. पौडेलले मधेस प्रदेशमा पर्यटन क्षेत्रमा नयाँ अवसरहरू रहेको र त्यसमा थप मिहिनेत गर्नुपर्ने बताउँदै लगानी गर्दा पूर्ण रूपमा परियोजनाको अध्ययन गरी सम्भावित चुनौतीहरूको मूल्याङ्कन गरेर मात्र लगानी गर्न बैङ्कहरूलाई राष्ट्र बैंकले निर्देशन दिएको बताउनुभयो ।

कार्यक्रममा वीरगञ्ज उद्योग वाणिज्य संघका अध्यक्ष हरि गौतमले बैङ्कहरूमा तरलता बढे पनि साना तथा मझौला व्यवसायीले ऋण पाउन नसकेको गुनासो गर्नुभयो ।

वीरगन्ज उद्योग वाणिज्य सङ्घका पूर्व अध्यक्ष अशोक वैद्यले सुशासनको अभाव र एकद्वार प्रणाली कार्यान्वयन नहुँदा वैदेशिक लगानी भित्रिन नसकेको बताउनुभयो ।

कार्यक्रममा नेपाल राष्ट्र बैंकका उच्च अधिकारीहरु तथा वीरगन्जका उद्योगी–व्यवसायी,बैङ्क तथा वित्तीय क्षेत्र,शिक्षा क्षेत्रका सरोकारवालाहरूको उपस्थिति रहेको थियो ।

मा प्रकाशित