तत्काल गर्ने ११ काम, ५ आधारभूत र समृद्धिका २५ स्तम्भलाई प्राथमिकता  एमाले घोषणापत्र

आर्थिक परिवेश

०७ फागुन, काठमाण्डाै ।   नेकपा एमालेले प्रतिनिधि सभा निर्वाचन २०८२ को लागि चुनावी घोषणापत्र बिहिवार सार्वजनिक गरेको छ ।

अध्यक्ष केपी शर्मा ओलीले काठमाडौंमा सार्वजनिक गरेको घोषणापत्रमा एमालेले गरेको र गर्ने कामको फेहरिस्त प्रस्तुत गरिएको छ । लोडसेडिङ अन्त्य, अन्तर्राष्ट्रिय विमानस्थल निर्माण लगायतका काम आफूले गरेको दाबी एमाले गरेको छ ।

राजमार्ग, रेलमार्ग, जलमार्ग र विमानस्थललाई एकअर्कासँग आबद्ध गर्नेगरी ‘एकीकृत मल्टिमोडल ट्रान्सपोर्ट सिस्टम’को विकास गर्ने एमालेको प्रतिबद्धता छ ।

 एमालेले तत्काल गर्ने ११ काम, ५ आधारभूत घोषणा र समृद्धिका २५ स्तम्भलाई नीतिगत प्राथमिकतामा राखेको छ ।

जेनजी आन्दोलनमा आगजनी भएका सिंहदरबार, सर्वोच्च अदालत लगायत राज्यका संरचनाहरु उठाउने काम समयसीमा तोकेरै अघि बढाउने जनाएको छ ।

एमाले घोषणा पत्रमा भनेको छ, ‘यो निर्वाचन पुस्तान्तरणको होइन, देश बनाउने र भत्काउने बीचको जनमत–संग्रह हो । यो राष्ट्रघात र स्वाभिमान बीचको संघर्ष हो ।’

राजमार्ग, रेलमार्ग, जलमार्ग र विमानस्थललाई एकअर्कासँग आबद्ध गर्नेगरी ‘एकीकृत मल्टिमोडल ट्रान्सपोर्ट सिस्टम’को विकास गर्ने एमालेको प्रतिबद्धता छ ।

काठमाडौं–तराई/मधेस द्रुतमार्गलगायत निर्माणाधीन राजमार्गहरूको निर्माण सम्पन्न गर्ने भनिएको छ । राष्ट्रिय एकता, सामाजिक सद्भावलाई थप सुदृढ बनाउँदै सन्तुलित क्षेत्रगत विकासका लक्ष्यहरू हासिल गर्न राष्ट्रको लाइफलाइन मानिने सडक पूर्वाधारको गुरुयोजना तयार गरी कार्यान्वयन गर्ने प्रतिबद्धता जनाइएको छ ।

‘सबै गाउँपालिकालाई सबै मौसममा चल्ने कम्तीमा एक सडकले जोड्नेछौं,’ घोषणापत्रमा भनिएको छ, ‘जिल्ला सदरमुकाम र प्रदेश राजधानीलाई राष्ट्रिय राजमार्गमा जोड्नेछौं ।’

अब बन्ने सडकहरू कम्तीमा डबल लेनको हुने र विगतमा निर्माण भएका सिंगल लेनका सडकहरूलाई डबल लेनमा स्तरोन्नति गर्ने वाचा पनि गरिएको छ ।

पूर्व–पश्चिम राजमार्गलाई एक्सप्रेस हाइवेमा स्तरोन्नति गर्ने, मध्यपहाडी (पुष्पलाल) राजमार्गलाई डेडिकेटेड डबल लेनको स्तरमा निर्माण गर्ने, मदन भण्डारी राजमार्ग र हुलाकी राजमार्गलाई रणनीतिक राजमार्गको रूपमा विकास गर्ने प्रतिवद्धता पनि जनाइएको छ ।

कोशी, गण्डकी र कर्णाली करिडोरलाई आर्थिक समृद्धिका मेरुदण्डको राजमार्गका रूपमा विकास गर्ने बाचा गरिएको छ ।

सुरक्षित, छिटो र आरामदायी यातायात सेवाका लागि सडकको गुणस्तर सुधारमा योजनाहरू केन्द्रित गर्ने योजना पनि राखिएको छ ।

अन्तर्राष्ट्रिय ‘रफनेस इन्डेक्स, रोड ज्योम्यट्री र रोड फर्निचर’ का उत्कृष्ट अभ्यासहरू पालना गर्दै नेपालको सडकको गुणस्तरलाई विश्वस्तरको बनाउने भनिएको छ ।

यात्रुहरूलाई सम्मानजनक व्यवहारको सुनिश्चितता गर्न, यात्रा अवधिलाई सुरक्षित बनाउन र यात्रा अवधिमा यात्रुलाई आवश्यक पर्ने पूर्व तयारीका सूचना समयमै उपलब्ध गराउन यातायात सेवाका मापदण्डहरू निर्माण गरी लागु गर्ने प्रतिबद्धता जनाइएको छ ।

सडक सुरक्षाका सबै उपायहरू अवलम्बन गरी दुर्घटना न्यूनीकरण गर्ने, सडकमा निश्चित दूरी र अन्तरालमा पेट्रोलिङ गर्ने, सुरक्षा पोष्टहरू सञ्चालन गर्ने व्यवस्था मिलाउने,  जोखिमयुक्त सडक क्षेत्रमा सीसी क्यामरा जडान गर्ने र निश्चित दूरीमा ट्रमा सेन्टर सुविधाको प्रबन्ध गर्ने एमालेको प्रतिबद्धता छ ।

मा प्रकाशित