
०१ चैत्र, काठमाण्डौ । चालु आर्थिक वर्षको आठौं महिना फागुनसम्ममा सरकारले लक्ष्यको ८२.६० प्रतिशत राजस्व संकलन गरेकोे छ ।
फागुन मसान्तसम्म सरकारले ९ खर्ब १० अर्ब २० करोड रुपैयाँ बराबर राजस्व संकलन गर्ने लक्ष्य राखेकामा ७ खर्ब ५१ अर्ब ८६ करोड बराबर संकलन भएको अर्थ मन्त्रालयले जनाएको छ ।
सरकारले चालु आव १४ खर्ब ८० अर्ब राजस्व उठाउने लक्ष्य राखेको छ । वार्षिक लक्ष्यको तुलनामा यो राजस्व संकलन ५०.८० प्रतिशत मात्र हो गत आव यसै अवधिको तुलनामा भने राजस्व संकलन ३.०४ प्रतिशतले सुधार भएको छ ।
अर्थ मन्त्रालयका अनुसार भन्सार महसुल १ खर्ब ५५ अर्ब ९० करोड उठेको छ । जुन गत आवको तुलनामा ८.१३ प्रतिशतले बढेको छ । मूल्य अभिवृद्धि कर (भ्याट) २ खर्ब २५ अर्ब बराबर उठेको छ ।
जुन गत आवको तुलनामा ७.३५ प्रतिशतले बढेको छ । लक्ष्यको तुलनामा भने ९१.५२ प्रतिशतमात्र संकलन भएको छ । यस वर्ष फागुनसम्म २ खर्ब ४६ अर्ब बराबर भ्याट उठाउने लक्ष्य तय गरिएको थियो ।
वार्षिक लक्ष्यको तुलनामा भन्सार विभागले फागुनसम्म ५४.३९ र आन्तरिक राजस्व विभागले ४८.३७ प्रतिशत राजस्व उठाएका छन् ।
मा प्रकाशित