निजी क्षेत्रलाई सरकारको सहयात्रीका रूपमा अघि बढाउने नीति छ : अर्थमन्त्री

आर्थिक परिवेश

१६ चैत काठमाण्डौ ।    अर्थमन्त्री डा.स्वर्णिम वाग्लेले निजी क्षेत्रका लागि प्रशासनिक झन्झट, घुसखोरी र अनावश्यक कानुनी झमेलाको अन्त्य गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ ।

उहाँले अब निजी क्षेत्रले घुस खुवाउन नपर्ने, सरकारी निकायमा लाइन लाग्न नपर्ने र सामान्य आर्थिक गतिविधिका कारण थुनिनु नपर्ने स्पष्ट पार्नुभएको हो ।

सोमबार नेपाल उद्योग वाणिज्य महासङ्घका प्रतिनिधिहरूसँग अर्थ मन्त्रालयमा भएको भेटघाटमा अर्थमन्त्री वाग्लेले निजी क्षेत्रलाई सरकारको सहयात्रीका रूपमा अघि बढाउने नीति लिइएको बताउनुभयो ।

उहाँले लगानी विस्तार र रोजगारी सिर्जनामा निजी क्षेत्रको भूमिका महत्वपूर्ण रहेको उल्लेख गर्दै लगानी बढाएर रोजगारी सिर्जनामा केन्द्रित हुनुपर्ने बताउनुभयो ।

अर्थतन्त्रलाई नयाँ गति दिन आफू प्रतिबद्ध रहेको बताउँदै अर्थमन्त्री वाग्लेले आर्थिक अपराधसम्बन्धी नीति परिवर्तन गर्दै अब सामान्य प्रकृतिका आर्थिक अनियमिततामा कैद सजायभन्दा आर्थिक जरिवानामा केन्द्रित हुने जानकारी दिनुभयो ।

मा प्रकाशित