फागुनसम्म विप्रेषण आप्रवाहमा ३७.७ प्रतिशतले वृद्धि

आर्थिक परिवेश

२० चैत, काठमाडौँ  ।    चालु आर्थिक वर्षको फागुन मसान्तसम्म विदेशमा गएका नेपालीले  १४ खर्ब ४९ अर्ब ६५ करोडबराबरको विप्रेषण देशभित्र पठाएका छन् ।

नेपाल राष्ट्र बैंकले बिहिवार प्रकाशित मुलुककाे पछिल्लाे अार्थिक विवरण प्रतिवेदन अनुसार विप्रेषण आप्रवाहमा ३७.७ प्रतिशतले वृद्धि भएको हो ।

अघिल्लो वर्षको सोही अवधिमा विप्रेषण आप्रवाह ९.५ प्रतिशतले बढेको थियो ।

गत फागुन महिनामा विप्रेषण आप्रवाह एक खर्ब ८८ अर्ब ६४ करोड भएको थियाे । अघिल्लो वर्षको यसैअवधिमा विप्रेषण आप्रवाह  १ खर्ब ५१ अर्ब १९ करोड बराबर थियो ।

सो अवधिमा अमेरिकी डलरमा विप्रेषण आप्रवाह ३१ प्रतिशतले वृद्धि भई  १० अर्ब १५ करोड पुगेको छ । अघिल्लो वर्ष यस्तो आप्रवाह ७.१ प्रतिशतले बढेको थियो ।

केन्द्रीय बैंकका अनुसार समीक्षा अवधिमा खुद द्वितीय आय (खुद ट्रान्सफर) रु १५ खर्ब ९१ अर्ब ६६ करोड पुगेको छ ।  अघिल्लो वर्षको १सोही अवधिमा यस्तो आय ११ खर्ब ४९ अर्ब ३० करोड रहेको थियो ।

समीक्षा अवधिमा वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति (संस्थागत तथा व्यक्तिगत–नयाँ) लिने नेपालीको सङ्ख्या २ लाख ७३ हजार ५३६ र पुनः श्रम स्वीकृति लिनेको सङ्ख्या २ लाख ५१ हजार ९८५ रहेको छ ।

अघिल्लो वर्षको सोही अवधिमा यस्तो सङ्ख्या क्रमशः तीन लाख १७ हजार ०६८ र दुई लाख १७ हजार ४०३ रहेको थियो । समीक्षा अवधिमा चालु खाता  ५ खर्ब ५२ अर्ब ८५ करोडले बचतमा रहेको छ ।

 

अघिल्लो वर्षको सोही अवधिमा चालु खाता रु एक खर्ब ९७ अर्ब ३ करोडले बचतमा रहेको थियो । अमेरिकी डलरमा अघिल्लो वर्षको सोही अवधिमा  एक अर्ब ४६ करोडले बचतमा रहेको चालु खाता समीक्षा अवधिमा रु तीन अर्ब ८८ करोडले बचतमा रहेको छ ।

यस्तै, फागुन मसान्तस्म्म रु १० अर्ब ८४ करोड प्रत्यक्ष वैदेशिक लगानी (इक्विटी मात्र) भित्रिएको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो प्रत्यक्ष वैदेशिक लगानी (इक्विटी मात्र) ८ अर्ब ४७ करोड रहेको थियो ।

सो अवधिमा शोधनान्तर स्थिति  छ खर्ब ५८ अर्ब ३५ करोडले बचतमा रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा शोधनान्तर स्थिति ३ खर्ब १० अर्ब ३७ करोडले बचतमा रहेको थियो ।

मा प्रकाशित