
४ जेठ, काठमाडौं । अर्थमन्त्री डा.स्वर्णिम वाग्लेले वर्तमान सरकारको मूल प्राथमिकता सुशासन, आर्थिक पुनर्संरचना र पूर्वाधार विस्तार रहेको बताउनु भएको छ ।
सोमवार काठमाडौंमा आयोजित नेपाल विजनेश समिटिलाई सम्बोधन गर्दै अर्थमन्त्री वाग्लेले सरकारले सुशासन,आर्थिक पुनर्संरचना,पूर्वाधार विस्तारलाई मूल प्राथमिकतामा राखेर काम गरिरहेको बताउनु भयो ।
अर्थमन्त्री वाग्लेले आगामी बजेट सुधारवादी बजेटको रुपमा आउने र सुशासन प्रर्वद्धनका लागि संस्थागत तथा कानूनी सुधार,दर्जनौँ ऐन संशोधन,सूचना प्रविधि र डिजिटाइजेसनको व्यापक प्रयोगलाई आगामी बजेटले जोड दिने उल्लेख गर्नु भयो ।
नेपालको अर्थतन्त्र विगत दुई दशकमा अत्यधिक रूपमा विप्रेषणमा आधारित भएको भन्दै अर्थमन्त्री वाग्लेले अब दिगो आर्थिक वृद्धिका स्रोत निर्माणमा जोड दिनुपर्छ भन्नु भयो ।
आगामी दशकहरूमा रेमिट्यान्समाथिको निर्भरता घटाउँदै स्वच्छ ऊर्जा, डिजिटाइजेसन, पर्यटन, हरित उत्पादन र उच्च मूल्यको कृषिलाई आर्थिक वृद्धिको आधार बनाउने नीति सरकारको रहेको उहाँले स्पष्ट पार्नु भयो ।
युवाहरूलाई नेपालमै बसेर विश्वसँग जोड्ने गरी डिजिटल अर्थतन्त्र निर्माणमा सरकारले विशेष ध्यान दिने बताउँदै अर्थमन्त्री वाग्लेले केही क्षेत्रहरूमा आयात प्रतिस्थापन र औद्योगिक नीति सञ्चालनका लागि सरकारले कार्यक्रमहरू अघि बढाउन लागेको जानकारी दिनुभयो ।