मुलुकका आर्थिक सूचकहरू र सामाजिक क्षेत्रमा सन्तोषजनक प्रगति छ : अर्थमन्त्री

आर्थिक परिवेश

१३ जेठ, काठमाण्डौ । अर्थमन्त्री स्वर्णिम वाग्लेले मुलुकका आर्थिक सूचकहरूमा सुधार देखिएको र सामाजिक क्षेत्रमा सन्तोषजनक प्रगति भएको बताउनु भएको छ ।

संघीय संसदमा चालू आर्थिक वर्ष २०८२/८३ को आर्थिक सर्वेक्षण प्रस्तुत गर्दै अर्थमन्त्री वाग्लेले विश्व अर्थतन्त्रमा देखिएको अनिश्चितता र क्षेत्रीय द्वन्द्वका बाबजुद नेपालको समष्टिगत आर्थिक सूचकहरूमा सुधार देखिएको बताउनु भएको हो ।

अर्थमन्त्रीले वाग्लले आर्थिक सर्वेक्षण प्रस्ततु गर्दै चालु आर्थिक वर्षमा नेपालको अर्थतन्त्र ३.८५ प्रतिशतले विस्तार हुने अनुमान गरिएको बताउनु भयो ।

यस बर्ष मुलुकको अर्थतन्त्रको आकार ६६ खर्ब पुग्ने र नेपालीको प्रतिव्यक्ति कुल राष्ट्रिय आय १,५३५ अमेरिकी डलर पुग्ने प्रक्षेपण आर्थिक सर्वेक्षणले गरेको छ ।

प्रदेशगत रूपमा वागमती र गण्डकी प्रदेशको वृद्धिदर राष्ट्रिय औसतभन्दा माथि रहे पनि अन्य प्रदेशको वृद्धिदर भने औसतभन्दा न्युन रहने देखिएको आर्थिक सर्वेक्षणले औल्याएको छ ।

अर्थमन्त्रीले संसदमा पेश गरेको सर्वेक्षणमा कुल गार्हस्थ्य उत्पादनमा कृषि क्षेत्रको योगदान २४ प्रतिशत र गैर–कृषि क्षेत्रको योगदान ७६ प्रतिशत रहने अनुमान गरिएको छ ।

आर्थिक गतिविधिमा वागमती प्रदेशको प्रभाव बलियो देखिएको छ । बागमती प्रदेशले मुलुकको कुल गार्हस्थ्य उत्पादनमा ३६.७ प्रतिशत योगदान पुर्याएको छ ।

आर्थिक सर्वेक्षणले देशको प्रमुख खाद्यान्न बाली धानको उत्पादन ४.२० प्रतिशतले खुम्चिएर ५७ लाख ५ हजार मेट्रिक टनमा सीमित भएको सर्वेक्षणले देखाएको छ ।

आर्थिक सर्वेक्षणले चालु आर्थिक वर्षको फागुन सम्ममा संघीय राजश्व ३.२ प्रतिशतले वृद्धि भएको,सरकारी खर्च १०.४ प्रतिशतले बढेको र सरकारको कुल सार्वजनिक ऋण २८ खर्ब ७८ अर्ब पुगेको जनाएको छ ।

आर्थिक सर्वेक्षणले देशको बाह्य क्षेत्र निकै बलियो देखिएको विप्रेषण आप्रवाह (रेमिट्यान्स) ३७.७ प्रतिशतले बढेर १४ खर्ब ५० अर्ब पुगेको छ ।

विदेशी विनिमय सञ्चिति ३४ खर्ब १४ अर्ब पुग्दै ऐतिहासिक उचाइमा पुगेको छ, जसले १८.५ महिनाको वस्तु तथा सेवा आयात धान्न पर्याप्त छ ।

यद्यपि, व्यापार घाटा ११.२ प्रतिशतले बढेर १० खर्ब ९८ अर्ब पुग्नु अर्थतन्त्रको लागि चुनौती बनेको छ ।

आर्थिक सर्वेक्षण अनुसार प्रविधिमैत्री भुक्तानीमा उल्लेख्य प्रगति भएको छ । फागुन महिनासम्म क्यूआर कोडमार्फत हुने कारोबार १ खर्ब २५ अर्ब नाघेको छ ।

यस्तै, सन् २०२५ को सार्वभौम क्रेडिट रेटिङमा नेपालले स्टेबल आउटलुक प्राप्त गरेको छ, जसले अन्तर्राष्ट्रिय स्तरमा नेपालको साख सुध्रिएको संकेत गर्छ । मुद्रास्फीति (महँगी) भने नियन्त्रणमै रहेको छ, जुन औसत २.१३ प्रतिशत छ ।

मानव विकासका सूचकहरूमा नेपालले प्रगति गरेको छ । मानव विकास सूचकांक ०.६२२ र नेपालीको औसत आयु ७१.३ वर्ष पुगेको छ । स्वास्थ्य क्षेत्रमा मातृ मृत्युदर प्रति लाख १५१ र ५ वर्ष मुनिको बाल मृत्युदर प्रति हजार ३३ मा झरेको छ ।

शिक्षातर्फ आधारभूत तहको खुद भर्ना दर ९७.८ प्रतिशत पुगेको छ भने स्वास्थ्य बीमा र सामाजिक सुरक्षा कोषमा नागरिकको आबद्धता बढ्दो क्रममा रहेको आर्थिक सर्वोक्षणमा उल्लेख गरिएको छ ।

मा प्रकाशित