विद्युतमा लगाइएको मूल्य अभिवृद्धि करबाट सरकार पछि हट्दैन : अर्थमन्त्री

आर्थिक परिवेश

१८ जेठ काठमाण्डौ ।    अर्थमन्त्री स्वर्णिम वाग्लेले आगामी आर्थिक वर्षको बजेट कार्यान्वयन भैसक्दा मुलुकको कुल ग्रार्हस्थ्य उत्पादन ७४ खर्ब ५८ अर्बको बराबर पुग्ने प्रक्षेपण गरिएको बताउनु भएको छ ।

नेपाल आर्थिक पत्रकार सङ्घले बजेटपछि आयोजित अन्तरक्रिया कार्यक्रमा अर्थमन्त्री वाग्लेले पाँच वर्षको समयावधिलाई दृष्टिगत गरी बजेट ल्याइएकाले आगामी वर्ष करिब १६ खर्ब राजस्व सङ्कलन गर्ने लक्ष्य राखिएको बताउनुभयो ।

उहाँले प्रक्षेपित कुल गार्हस्थ्य उत्पादन ७४ खर्बका आधारमा सात प्रतिशतको आर्थिक वृद्धि कायम गर्न सकिने विचार व्यक्त गर्नुभयो ।

कुल गार्हस्थ्य उत्पादनको तुलनामा ऋण ४३ प्रतिशत बढी धेरै नहुने बताउँदै अर्थमन्त्री वाग्लेले आगामी वर्षको बजेटमा पुराना कार्यक्रमको दायित्व रहेकाले त्यसलाई सरकारले निरन्तरता दिने जानकारी दिनुभयो ।

अर्थमन्त्री वाग्लेले विद्युतमा लगाइएको मूल्य अभिवृद्धि कर (भ्याट) बाट सरकार पछाडि नहट्ने बताउँदै अन्तिम उपभोक्तालाई मारमा नपर्ने गरी विभिन्न विकल्पमा छलफल भइरहेको जानकारी दिनुभयो ।

कार्यक्रममा नेपाल राष्ट्र बैङ्कको कार्यकारी निर्देशक गुरु पौडेलले वैदेशिक मुद्रा सञ्चितिको आधार विप्रेषण रहेको बताउँदै यसलाई दिगो बनाउन स्वदेशी वस्तु उत्पादन तथा निर्यातमा जोड दिनु पर्ने बताउनु भयो ।

मा प्रकाशित