राजनीतिक अभिष्ट राखेर गभर्नरलाई निजामती कर्मचारी जस्तै चलाउन खाेज्न हुदैन : अर्थमन्त्री

आर्थिक परिवेश

२ साउन, काठमाडौँ ।   अर्थमन्त्री डा.स्वर्णिम वाग्लेले राजनीतिक अभिष्ट राखेर गभर्नरलाई निजामती कर्मचारीजस्तै चलाउन खाेज्न नहुने बताउनु भएको छ ।

प्रतिनिधिसभाको अर्थ समितिले  सिंहदरबारमा आयोजना गरेको नेपाल राष्ट्र बैङ्क ऐन, २०५८ लाई संशोधन गर्न बनेको विधेयकमाथिकाे प्रारम्भिक छलफल कार्यक्रममा बोल्दै अर्थमन्त्री डा वाग्लेले राष्ट्र बैङ्कको गभर्नरलाई राजनीतिक हस्तक्षेप गरेको खण्डमा घातक परिणाम आउने बताउनु भयो ।

“नेपाल राष्ट्र बैङ्क ऐन, २०५८ मा यसले धेरै राम्रा पक्षहरू समेटेको र गभर्नरको नियुक्तिलाई पनि स्थायी स्वरूपको बनाएको छ,” उहाँले भन्नुभयो, ।

“राजनीतिक अभिष्ट साँधेर गभर्नरलाई पनि निजामती कर्मचारी जस्तै कहिले एउटा कार्यालय, कहिले अर्को कार्यालयमा सरुवा वा निकाल्ने काम गर्नुहुँदैन ।

राष्ट्र बैङ्क भनेको एउटा स्वायत्त र स्वतन्त्र निकाय जस्तै हो । राजनीति गरियो भने त्यहाँ घातक हुने देखिन्छ ।’’

अर्थमन्त्री डा.वाग्लेलेले राष्ट्र बैङ्क ऐनलाई पनि समयसापेक्ष गराउन  जरुरी भएर विधेयकलाई व्यवस्थित गर्न खोजेको बताउनुभयो ।

“राष्ट्र बैंकका संरचना र बोर्डलाई पनि समयानुकूल बनाउन खोजेका छौँ,” उहाँले भन्नुभयो, “गभर्नर र सञ्चालकहरूको नियुक्ति तथा कार्य र कर्तव्यलाई पनि व्यवस्थित गराउन खोजेका छौँ ।”

अर्थमन्त्री डा वाग्लेले असल नियतले गरिएको कामलाई कारबाही नगरिने खालको विषयवस्तुलाई पनि विधेयकमा समेटिएको बताउनुभयो ।

मा प्रकाशित