
१२ भदाै, काठमाडौँ । प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ३६ घण्टा अवधिमा १ अर्ब ९१ करोडभन्दा बढी सहयोग रकम सङ्कलन भएको छ ।
अर्थ मन्त्रालयलाई प्राप्त विवरणअनुसार बुधबार मध्याह्नदेखि बिहीबार राति १२ः०० बजेसम्म कोषमा उक्त रकम जम्मा भएको हो ।
विभिन्न १० वाणिज्य बैकहरूमा रहेको खातामा १ अर्ब ९१ करोड ८६ लाख ५० हजार ९११ दाताहरूले ३६ घण्टा अवधिमा जम्मा गर्नुभएको हो ।
बुधबार बिहान नेपाल–चीन सीमा भएर बग्ने भोटेकोशी नदीमा भीषण बाढी आएर ठूलो धनजनको क्षति गरेपछि सरकारले मन्त्रिपरिषद् बैठक बसी ती प्रभावित क्षेत्रलाई सङ्कटग्रस्त क्षेत्र घोषणा गरेको थियो ।
त्यसपछि राहत कोषमा मनकारी व्यक्ति तथा संस्थाहरूको सहयोग जम्मा हुन सुरु भएको थियो ।
सरकारले प्रधानमन्त्री राहत कोषमा रकम जम्मा गर्न र त्यसको समन्वयका लागि अर्थ मन्त्रालयलाई फोकल मन्त्रालयका रूपमा तोकेको छ ।
अर्थमन्त्री डा स्वर्णिम वाग्लेले संस्थागततर्फ १ करोड वा सोभन्दा माथिको सहयोग गर्ने दाताहरूको रकम आफैँमार्फत स्वीकार गरिरहनुभएको छ ।
यस्तै, व्यक्तिगततर्फको नगद सहयोग रकम दाताहरूले मन्त्रालयमै आएर प्रदान गर्न सक्नुहुनेछ । यससँगै कोषमा बचत रकम ४अर्ब ९ करोड ११ लाख ६० हजार पुगेको छ ।
यसअघि कोषमा २ अर्ब १७ करोड २५ लाख नौ हजार ७५९ बचत थियो । बिहीबार छ घण्टा अवधिमा नेपालका निजी क्षेत्रका दाताहरूबाट मन्त्रालयमार्फत २७ करोड ३३ लाख सहयोग प्राप्त भएको थियो ।
सूर्य नेपाल प्रालिले १५ करोड सहयोग
प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा सूर्य नेपाल प्रालिले १५ करोड सहयोग गरेको छ ।
आज अर्थमन्त्री डा स्वर्णिम वाग्लेलाई भेटेर कम्पनीले उक्त रकम हस्तान्तरण गरेको हो ।
यो रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा पूर्व जानकारी दिएर उपलब्ध गराइएको निजी क्षेत्रबाट प्राप्त सबैभन्दा ठूलो सहयोग रकम हो ।
अर्थमन्त्री डा वाग्लेलाई सूर्य नेपाल प्रालिका प्रबन्ध निर्देशक गौरव तयाल, उपाध्यक्ष द्वय डिप्रा लहेरी र रवि केसी एवं महाप्रबन्धक प्रेम अर्यालले उक्त रकमको चेक हस्तान्तरण गर्नुभयो ।
यो सहायतामा रकममा विभिन्न मित्र राष्ट्रबाट घोषणा भएको रकम समावेश छैन ।
मा प्रकाशित