भीषण बाढीका कारण पाँच जिल्लाका ७ हजार ५ सय ७० निजी भवनमा ठुलो क्षति

आर्थिक परिवेश

२८ भदाै,काठमाण्डाै ।  रसुवाको भोटेकोसी नदीमा अचानक आएको भीषण बाढीका कारण पाँच जिल्लाका ७ हजार ५ सय ७० निजी भवनमा ठुलो क्षति भएको छ।

राष्ट्रिय योजना आयोग र राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले तयार पारेको प्रतिवेदनमा अब ती भवन पुनःस्थापना तथा पुनर्निर्माण गर्न ९५ अर्ब ८२ करोड ७२ लाख रुपैयाँ आवश्यक पर्ने आकलन गरिएको छ।

बाढीपछि भएको आर्थिक नोक्सानी तथा पुनःस्थापना/पुनर्निर्माणका विषयमा आयोग र प्राधिकरणले संयुक्त रूपमा अध्ययन गरेका हुन्।

रसुवागढीनजिक लेहन्दे खोला जलाधार क्षेत्रमा बरफ र चट्टानसहितको हिमपहिरोबाट सिर्जित ‘डेब्रिस फ्लो’ (तीव्र गतिमा बग्ने भिरालो जमिनको पहिरो) भोटेकोसी नदीमा मिसिएपछि त्रिशूली हुँदै नारायणी नदीसम्म फैलिएको थियो।

जुन बाढीले रसुवासहित नुवाकोट र धादिङसम्मका बस्ती तथा पूर्वाधार ध्वस्त पारेको छ।

राष्ट्रिय योजना आयोग र राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले तयार पारेको ‘द्रुत क्षति तथा आवश्यकता आकलन प्रतिवेदन (आरडीएनए) का अनुसार बाढीका कारण ८ हजार ३१७ घरपरिवार र ३२ हजार ९६३ मानिस विस्थापित भएका छन् ।

आकस्मिक बाढीका कारण सबैभन्दा बढी क्षति नुवाकोट जिल्लामा भएको छ। जहाँ ३ हजार ९७७ निजी भवन ध्वस्त भएका छन्।

 

प्रतिवेदनअनुसार बाढीका कारण रसुवामा १ हजार ७७९, धादिङमा १ हजार ४५१, गोरखामा २६३ र चितवनमा १०० निजी भवनमा क्षति भएको छ।

बाढीबाट स्थानीय तहमा सबैभन्दा बढी विदुर नगरपालिका प्रभावित देखिएको छ। विदुरमा मात्रै ३ हजार २६ भवनमा क्षति भएको छ।

त्यसपछि रसुवाको गोसाईंकुण्डमा १ हजार ४३ र धादिङको बेनिघाट रोराङमा १ हजार ३७ भवन क्षतिग्रस्त भएका छन्।

वडागत रूपमा भने नुवाकोटकै किस्पाङ गाउँपालिकाका ५ वटा वडा सबैभन्दा बढी प्रभावित देखिएका छन्। सो वडामा बाढीले ६९६ भवनमा क्षति भएको छ।

त्यसपछि रसुवाको गोसाईंकुण्ड गाउँपालिकाको-२ मा ५७१ र धादिङको बेनिघाट रोराङ-३ मा ५५३ भवनमा क्षति भएको छ।

यद्यपि कुन भवन मर्मत गर्न मिल्ने, कुन पुनर्निर्माण गर्नुपर्ने र कुन जोखिमका कारण स्थानान्तरण गर्नुपर्ने भन्ने कुरा भने थप निरीक्षण तथा घरधुरी प्रमाणीकरणपछि मात्र एकिन गर्न सकिने प्रतिवेदनमा उल्लेख गरिएको छ।

प्रतिवेदनअनुसार निजी भवन र घरायसी सम्पत्तिमा भएको कुल क्षति ६३ अर्ब ८ करोड ४ लाख रुपैयाँ बराबर भएको अनुमान गरिएको छ।

जसमध्ये भवन संरचनातर्फ ३८ अर्ब ९३ करोड ३८ लाख रुपैयाँ र घरायसी सम्पत्तिमा २४ अर्ब ९५ करोड १० लाख रुपैयाँ बराबरको क्षति भएको मूल्यांकन छ।

क्षति भएका निजी भवन पुनःस्थापना तथा पुनर्निर्माणका लागि ९५ अर्ब २ करोड ७२ लाख रुपैयाँ लाग्ने अनुमान गरिएको छ।

पहिलो ६ महिनाका लागि ४ करोड रुपैयाँ र त्यसपछि दीर्घकालीन पुनःस्थापना तथा पुनर्निर्माणका लागि ९५ अर्ब ३४ करोड ७२ लाख रुपैयाँ आवश्यक पर्ने आकलन छ।

यस रकममा भग्नावशेष हटाउने, अस्थायी आवास तथा खानेपानी-सरसफाइको व्यवस्था गर्ने, विस्तृत भवन मूल्यांकन गर्ने, घर मर्मत तथा पुनर्निर्माण गर्ने र आवश्यक घरायसी सम्पत्ति पुनःस्थापना गर्ने काम समेटिएका छन्।

तथापि भवनको वास्तविक क्षेत्रफल, संरचनाको अवस्था र घरायसी सम्पत्तिमा भएको वास्तविक क्षति थप विस्तृत अध्ययनपछि फरक पनि पर्न सक्ने भएकाले पुनर्निर्माणको लागत संशोधन हुन सक्ने प्रतिवेदनले जनाएको छ।

समग्रमा भोटेकोसी-त्रिशूली-नारायणी बाढीबाट कुल भौतिक क्षति तथा आर्थिक नोक्सानी ४ खर्ब ८ अर्ब २८ करोड ९१ लाख रुपैयाँ बराबरको भएको अनुमान गरिएको छ।

ती सबै क्षेत्रमा पुनःस्थापना, पुनर्निर्माण र जोखिम न्यूनीकरणका लागि भने ७ खर्ब २३ अर्ब ३१ करोड ५२ लाख रुपैयाँ आवश्यक पर्ने आकलन रिपोर्टमा गरिएको छ।

तत्कालीन आकलनअनुसार निजी घर तथा भवनको पुनःस्थापनाका लागि ९५ अर्ब ८२ करोड ७२ लाख रुपैयाँ आवश्यक देखिएको छ।

मा प्रकाशित