स्थानीय तह निर्वाचनमा ५ अर्व ४ करोड खर्च

आर्थिक परिवेश

 

काठमाण्डौ । हालै सम्पन्न स्थानीय तह निर्वाचनमा ५ अर्व ४ करोड खर्च भएको निर्वाचन आयोगले जनाएको छ ।
स्थानीय तह निर्वाचनमा आन्तरिक स्रोतबाट ५ अर्व ४ करोड खर्च भएको र बाह्य स्रोतबाट सामान्य प्राविधिक र व्यवस्थापकीय सहयोग मात्र लिइएको प्रमुख निर्वाचन आयुक्त दिनेश कुमार थपलियाले बताउनुभयो ।
गत निर्वाचनमा प्रति मतदानकेन्द्र २ लाख २९ हजार ५७८ रुपैया खर्च भएको थियो भने प्रतिमतदाता २ सय ८४ रुपैया मात्र खर्च भएको आयोगले जनाएको छ ।
स्थानीय तहको निर्वाचनमा भएको कुल खर्चमध्ये २०.३६ प्रतिशत आयोगको सचिवालयबाट खर्च भएको र बाँकी रकम विकेन्द्रिकृत ढंगले विभिन्न मन्त्रालय र अन्य कार्यालयहरुबाट खर्च भएको छ ।
आयोगका अनुसार नेपाल सरकारबाट निकासा भएको ८ अर्व ११ करोड रुपैयामध्ये निर्वाचन सम्पन्न भै खर्च नभएको ३ अर्व ६ करोड रकम नेपाल सरकारलाई फिर्ता गरिएकोे छ । निर्वाचनको क्रममा गरिएको ढुवानी तथा आवागमनलाई सकेसम्म सडक मार्ग मार्फत गरिएकोले पनि कम खर्चमा काम सकिएको प्रमुख निर्वाचन आयुक्त थपलियाले बताउनु भयो ।
मंगलवार निर्वाचन आयोगमा आयोजित पत्रकार सम्मेलनमा आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले स्थानीय तह निर्वाचनमा सम्पूर्ण रुपमा बदर मत २.४ प्रतिशत रहेको जानकारी दिनुभयो ।
प्रवक्ता पौडेलले स्थानीय तह निर्वाचन प्रयोजनका लागि ७९ दल दर्ता भएकोमा ६५ दलले निर्वाचनमा भाग लिएको र हाल २४ राजनीतिक दलहरुको प्रतिनिधित्व स्थानीय तहमा रहेको जानकारी दिनुभयो ।

मा प्रकाशित