काठमाडौ । नेपालका बैक तथा वित्तीय संस्थाहरुले भोग्नु परेका समस्या, नेपालको आर्थिक विकासका विभिन्न पक्ष तथा आगामी दिनमा चाल्नु पर्ने कदम लगायतका विषयमा त्यस क्षेत्रका विज्ञहरुले छलफल गरेका छन् ।
वक्ताहरुले बैक तथा वित्तीय संस्थाहरुले देशभर वितीय पहूँच वृद्धि गर्न र उत्पादनशिल क्षेत्रमा लगानी प्रवाह गर्न आवश्यक रहेकोमा पनि जोड दिनु भएको छ ।
बैंकिङ फाइनान्स एण्ड इन्स्योरेन्स इन्स्टिच्युट अफ नेपालले आइतबार काठमाडौंमा आयोजना गरेको ‘नेपाल इकोनोमिक आउटलुक २०२३ एण्ड बिओण्ड’ नामक सम्मेलनमा राष्ट्रिय योजना आयोगका उपाध्यक्ष विश्वनाथ पौडेलले बैंक तथा वित्तीय संस्थाहरुले सर्वसाधारणमा वित्तीय पहुँचको अभिवृद्धि गर्दै उत्पादनशील क्षेत्रमा लगानी केन्द्रित गरेमा आर्थिक विकास तथा गरिवी निवारणमा विशेष सहयोग पुग्ने बताउनु भयो ।
कार्यक्रममा नेपाल राष्ट्र बैंककी डेपुटी गभर्नर डा. निलम ढुंगाना तिम्सिना, बंगलादेश बैंकका पूर्व गभर्नर डा. अतुर रहमान र राष्ट्रिय वाणिज्य बैंकका प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठले सम्बोधन गर्नु भएको थियो ।
कार्यक्रमको दोस्रो सत्रमा बंगलादेशको केन्द्रिय बैंकका पूर्व गभर्नर डा.अतुर रहमानले ‘ग्लोबल इकोनोमिक क्राइसिस एण्ड लिडरसिप च्यालेन्जेज ः अ रेगुलेटरी प्रस्पेक्टिभ’ विषयमा कार्यपत्र प्रस्तुत गरी छलफल भएको थियो ।
बैंकिङ, इन्स्योरेन्स र इकोनोमी अन्तर्गत ‘म्याक्रो इकोनोमिक रिष्क एण्ड च्यालेन्जेज अफ नेप्लिज इकोनोमी’ विषयमा नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक डा. प्रकाशकुमार श्रेष्ठले आफ्नो कार्यपत्र प्रस्तुत गर्दै आयात प्रतिस्थापन र निर्यात प्रवर्द्धनमा विशेष जोड दिनुपर्ने बताउनु भयो ।
सोही सत्रमा स्टेट बैंक अफ इन्डियाका चिफ जनरल म्यानेजर एवं प्रमुख अनुकुल भट्नागरले ‘द बैंक इन २०३०’ र माइक्रोफाइनान्स इन्टिच्युट नेटवर्क भारतका प्रमुख कार्यकारी अधिकृत तथा निर्देशक डा. आलोक मिश्रले छुट्टाछुट्टै कार्यपत्र प्रस्तुत गरी छलफल भएको थियो ।
कार्यक्रममा नेपाल बैंकर्स संघका अध्यक्ष अनिलकुमार उपाध्याय र बिफिनका प्रबन्ध निर्देशक डा. विनोद आत्रेय, विश्व बैंकका पूर्व उपाध्यक्ष डा. विन्दुनाथ लोहनीले इन्फ्रास्टक्चर फाइनान्सिङ,इन्फ्रास्टक्चर इन्भेष्टमेन्ट ग्याप, मोडेल्स् एण्ड अपर्च्युनिटिज जस्ता विषयहरुमा धारणा राख्नु भएकोे थियो ।
कार्यक्रममा ‘ट्रेण्ड, रिष्क एण्ड इन्फ्रास्टक्चर इन्भेष्टमेन्ट आउटलुक इन नेपाल’ विषयमा लगानी बोर्ड नेपालका प्रमुख कार्यकारी अधिकृत सुशील भट्टले धारणा राख्नु भएको थियो ।
मा प्रकाशित