काठमाडौं महानगरपालिकाले दलीय आबद्धता त्याग्न आग्रह

आर्थिक परिवेश

काठमाडौं । काठमाडौं महानगरपालिकाले आफूअन्तर्गतका कर्मचारी र शिक्षकहरूलाई दलीय आबद्धता त्याग्न आग्रह गरेको छ । सुशासन प्रवर्द्धन गर्न महानगरअन्तर्गतका शिक्षक र कर्मचारीहरू कुनै पनि राजनीतिक दल, भ्रातृ संस्था वा शुभेच्छुक संस्थाको सदस्य हुनु कानुनसम्मत नहुने भन्दै दलीय आबद्धता त्याग्न आग्रह गरिएको हो ।

राजनीतिक दलसम्बन्धी ऐन, २०७३ ले संघीय सरकार, प्रदेश सरकार वा स्थानीय तहको स्वामित्व वा नियन्त्रणमा रहेको संस्थाको बहालवाला प्राध्यापक, शिक्षक वा कर्मचारीलाई कुनै पनि राजनीतिक दलले सदस्यता दिन नहुने व्यवस्था गरेको छ।

साथै, काठमाडौं महानगरपालिकाको कर्मचारी सेवा ऐन २०७७ मा पनि दलको गतिविधिमा भाग लिन नपाइने व्यवस्था रहेकोबारे उनले कर्मचारीको ध्यानाकर्षण गराएका छन् ।

कुनै शिक्षक वा कर्मचारी दलमा आवद्ध भएको पाइएमा आफ्नो इमेलमा जानकारी दिनसमेत उनले सार्वजनिक अपिल गरेका छन् ।

यसअघि निर्वाचन आयोगले पनि शिक्षक र कर्मचारीले राजनीतिक चेतावनी दिएको थियो ।

यस्तो छ महानगरको विज्ञप्ति

   राजनीतिक दल सम्बन्धी ऐन, २०७३ को दफा १४ को उपदफा (२) को खण्ड (ग) ले नेपाल सरकार, प्रदेश सरकार वा स्थानीय तहको स्वामित्व वा नियन्त्रणमा रहेको संस्थाको बहालवाला प्राध्यापक, शिक्षक वा कर्मचारीलाई कुनै पनि राजनीतिक दलले सदस्यता दिन नहुने व्यवस्था गरेको छ।

उक्त कानून कार्यान्वयन गर्नको लागि अजित भण्डारी विरुद्ध प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय समेत भएको (मुद्दा नं. ०७८–डब्लुओ–०४०८) मुद्दामा उच्च अदालत पाटनबाट मिति २०७९।२।४ मा परमादेश समेत जारी भएको छ। काठमाडौं महानगरपालिकाको कुनै पनि कर्मचारीले राजनीतिक दल वा संगठनको सदस्यता लिन, राजनीतिक क्रियाकलापमा संलग्न हुन वा अन्य कुनै पनि राजनीतिक गतिविधिमा भाग लिन नपाइने व्यवस्था काठमाडौं महानगरपालिका कर्मचारी सेवा ऐन, २०७७ को दफा ४५ ले पनि गरेको छ। 

उक्त कानूनी व्यवस्था तथा सम्मानित उच्च अदालत पाटनको आदेशको परिपालना गर्नु गराउनु काठमाडौं महानगरपालिकाको साथसाथै प्रत्येक राजनीतिक दल, भातृ संस्था वा शुभेच्छुक संस्था तथा महानगरपालिका अन्तर्गतका शिक्षक तथा कर्मचारीको दायित्व हो। काठमाडौं महानगरपालिकाको कार्यक्षेत्र भित्र सुशासन प्रवर्द्धन गर्नको लागि महानगर अन्तर्गतका शिक्षक तथा कर्मचारीहरु कुनै पनि राजनीतिक दल, भातृ संस्था वा शुभेच्छुक संस्थाको सदस्य हुनु कानून सम्मत हुँदैन। 

तसर्थ, काठमाडौं महानगरपालिका अन्तर्गतका शिक्षक तथा कर्मचारीलाई दलीय आबद्धतासँग सम्बन्धित कुनै पनि प्रकारको सदस्यता नदिन वा सदस्यता दिएको भए रद्द गर्न सम्बन्धित राजनीतिक दल, भातृ संस्था वा शुभेच्छुक संस्थालाई हार्दिक अपिल गरिन्छ। साथै, राजनीतिक दल, भातृ संस्था वा शुभेच्छुक संस्थाको सदस्यको रुपमा राजनीतिक आबद्धता कायम राखेको भएमा काठमाडौं महानगरपालिका अन्तर्गतको शिक्षक तथा कर्मचारीले त्यस्तो आबद्धता तत्काल त्याग गरी कानूनको परिपालना गर्न यसै विज्ञप्ती मार्फत सूचित गरिन्छ। अन्यथा, सार्वजनिक रुपमा उजुरी आव्हान गरी वा अन्य उपाय बमोजिम प्राप्त सूचनाको आधारमा कानूनी कारबाही अगाडि बढाउने नीति अख्तियार गरिनेछ।

बालेन्द्र शाह
प्रमुख, काठमाडौं महानगरपालिका

 

मा प्रकाशित