बुटवल । देशकै आर्थिक नगरको रुपमा विकास भैरहेको बुटवलमा सरकारको १ अर्ब ११ करोडको लागतमा अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रको निर्माण सम्पन्न भएको छ । अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रको शनिवार प्रधानमन्त्री शेरबहादुर देउवाले उदघाटन गर्नु भयो ।
दुई चरणमा गरी १ अर्ब ११ करोडको लागतमा निर्माण भएको उक्त सम्मेलन केन्द्र रुपन्देहीको बुटवल उपमहानगरपालिका वडा नं. ८ रामनगरमा निर्माण भएको हो । पाँच वर्षअघि निर्माण सुरु भएको केन्द्रलाई नेपालको झन्डा आकारमा निर्माण गरिएको छ । सम्मेलन केन्द्रमा एकै पटकमा एक हजार जना मानिस अट्ने सभा हल र बैठक कक्षहरू रहेका छन् । ९.६ बिगाहा क्षेत्रफल जमिनमा बनेको सम्मेलन केन्द्रमा सभा हलसहित ६ वटा बैठक हल र २ वटा बहुउद्देश्यीय हल तयार भएको छ । यसका अलवा सम्मेलन केन्द्रमा सर्भिस भवन, कर्मचारी आवास तथा अन्य आवश्यक पूर्वाधारहर पनि निर्माण भएका छन् । अन्तराष्ट्रिय सम्मेलन केन्द्रमा चार सय गाडी र चार सय मोटरसाइकल पार्किङको व्यवस्था गरिएको छ । सम्मेलन केन्द्रमा हेलिप्याडको समेत निर्माण गरिएको छ ।
सम्मेलन केन्द्रको उदघाटन गर्नुहुदै प्रधानमन्त्री शेरबहादुर देउवाले आधुनिक पूर्वाधारको विकासबाट मात्रै मुलुकमा आर्थिक समृद्धि प्राप्त गर्न संभव हुने बताउनु भयो ।
प्रधानमन्त्री देउवाले अव्यवस्थित शहरीकरणले बढाएको समस्यालाई ध्यानमा राखेर शहरहरुको दीर्घकालीन योजना बनाउन आग्रह समेत गर्नुभयो ।
प्रधानमन्त्री देउवाले शहरीकरणको व्यवस्थापन, दीर्घकालीन योजनाले पार्ने प्रभाव र बनेका योजना पूर्ण गतिमा संचालन गर्नुपर्ने विषयमा सम्बन्धीत निकायहरको ध्यानाकर्षण गराउनु भएको थियो ।
यसअघिका अव्यवस्थित शहरले अहिले धेरै खर्च बढाएको छ, समस्या थपेको छ अब त्यसलाई हटाएर दीर्घकालीन योजना बनाउनुपर्दछ’– प्रधानमन्त्री देउवाले भन्नुभयोे ।
संघीय शासन प्रणाली भएसँगै यसलाई दीगो बनाउन शहरीकरणमा निश्चित मापदण्ड बनाएर अगाडि जानुपर्ने शहरी पूर्वाधारलाई व्यवस्थित बनाउनुपर्ने अबको योजना रहेको र प्रदेश र स्थानीय सरकारले पनि यसलाई अंगिकार गरेर अगाडि जानुपर्ने प्रधानमन्त्री देउवाले बताउनुभयो । ‘अब यसलाई मुख्यबजार र तराईमा मात्रै होइन, पहाडी तथा हिमाली क्षेत्रमा पनि योजना बनाएर जानुपर्ने भएको छ, एकपटक खर्च गरिएका स्थानमा यसरी योजना बनाएर लगानी गर्दा पुनः खर्च गर्नुपर्दैन’– उहाँले भन्नुभयो ।
अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रले त्यस क्षेत्रको समग्र विकास र आर्थिक कृयाकलापलाई अघि बढाउन पनि मद्दत गर्ने प्रधानमन्त्री देउवाले उल्लेख गर्नु भयो । सम्मेलन केन्द्रको संचालनबाट त्यहाँको आर्थिक वृद्धिका लागि लाभ उठाउन आग्रह गर्दे प्रधानमन्त्री देउवाले संचालनबाट लाभ उठाउन नसके अर्को स्थानमा लगानी गर्न समस्या हुन्छ, तसर्थ यहाँका सबै क्षेत्रले यस गम्भीरतालाई ध्यान दिन आग्रह गर्नु भयो ।
अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रले देशकै गरिमा बढायो गृहमन्त्री
सम्मेलन केन्द्रको उद्घाटन समारोहमा गृहमन्त्री बालकृष्ण खाँडले नेपालको करिब मध्यभागमा पर्ने रुपन्देहीमा बनेको अन्तर्राष्ट्रिय विमानस्थल, बुद्धस्थल लुम्बिनीमा सम्मपन्न हुन लागेको लुम्बिनी गुरुयोजना, बुटवलमा सुरु भएको अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रलगायतका पूर्वाधारहरुले देशकै गरिमा बढाएको बताउनुभयो ।
‘लुम्बिनी संसारकै आस्थाको केन्द्र हो त्यसैले यहाँको विकासले राष्ट्रिय महत्व राख्नेछ, जेठ २ गते बुद्ध पूर्णिमामा भैरहवामा अन्तर्राष्ट्रिय विमानस्थलको उद्घघाटन भयो, आज यहाँको सम्मेलन केन्द्र भयो, विश्वका धेरै देशहरुसँग सम्बन्ध बलियो बनेको छ अब थप एयर रुटको लागि प्रधानमन्त्रीले कुरा गरिरहनुभएको छ,भारतीय प्रधानमन्त्री लुम्बिनीमा ल्याउन सकेकाले पनि रुपन्देहीको गरिमा बढेको छ ।’– गृहमन्त्री खाँडले भन्नुभयोे ।
बुटवलको सम्मेलन केन्द्रमा राज्यले गरेको लगानीको प्रतिफल निकाल्ने गरी अगाडि बढ्नुपर्ने बताउँदै उहाँले यसबाट आएको आम्दानीले अन्य क्षेत्रमा लगानी गर्ने विश्वास दिलाउनुपर्ने सन्देश दिनुपर्ने बताउनु भयो ।
गृहमन्त्री खाँडले लुम्बिनीमा रहेको मोतीपुर र नौवस्ताको औद्योगिक क्षेत्र छिटो बनाउन स्थानीयको व्यवस्थापन गरेर अगाडि जाने सरकारको नीति रहेको बताउँदै कार्यदलले क्षेत्रफल तोकेर अस्थायी बसोबास गरेका नेपाली नागरिकलाई कसरी स्थायित्व बनाउने भन्ने विषयमा निचोड निकाल्ले बताउनुभयो ।
शहरी विकास मन्त्री मेटमणि चौधरीको अध्यक्षतामा भएको कार्यक्रममा लुम्बिनी प्रदेशका मुख्यमन्त्री कुलप्रसाद केसी, पूर्वअर्थमन्त्री विष्णुप्रसाद पौडेल, पूर्वमन्त्री रामकुमारी झाँक्रीलगायतले सम्बोधन गर्नुभएको थियो ।
मा प्रकाशित