काठमाण्डौ । नेपाल सरकारले ‘स्टडी इन नेपाल’शैक्षिक अभियानको थालनी गर्ने अवधारणा अघि सारेको छ ।
सो अवधारणलाई अघि बढाउने सन्र्दभमा शिक्षा मन्त्रालयले बुधबार विदेशी विश्वविद्यालय तथा शिक्षण संस्थाका सञ्चालक एवम् आइप्यानका पदाधिकारीहरूसँगको छलफल गरेको हो । छलफलमा सहभागीहरुले नेपाललाई शिक्षाको केन्द्रको रुपमा अघि बढाउन सकिने प्रयाप्त संभावना रहेको भनद्यै सरकारले निश्चित कार्यक्रम सहित अभियान अघि बढाउनु पर्नेमा जोड दिनु भएको छ ।
छलफलमा शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले विदेशस्थित नेपाली नियोगहरुलाई सहजीकरणका लागि आवश्यक निर्देशन दिने जानकारी दिनुभयो ।
‘भिषालगायत अन्तर्राष्ट्रिय विद्यार्थीहरूको नेपाल बसाईमा सहजता प्रदान गर्ने र भइपरी आउँदा द्रुत सेवा दिन सक्ने गरी नयाँ योजना बनाएका छौं,’ मन्त्री पौडेलले भन्नुभयो, ‘यसले विदेशी विद्यार्थी नेपाल आएर पढ्ने वातावरण बन्छ ।’
छलफलमा मन्त्री पौडेलले नयाँ विषयको आवश्यकता फरक जनशक्ति उत्पादनमा शैक्षिक संस्थाले ध्यान दिनुपर्ने बताउनुभयो ।
छलफलमा सहभागीले नविकरण, कार्यक्रम थप र विश्वविद्यालयको सम्बन्धन परिर्वतन, कार्यक्रमको नाम संस्थाको नाम, स्थान परिर्वतन, समकक्षता सम्बन्धन, विदेशी मुद्रा सटही लगायतका विषयमा समस्या रहेको बताउनु भएको थियो ।
यसै बीच बुधवार शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले पुस्तकप्रति नयाँ पुस्तामा रूची नदेखिएको बताउनुभएको छ । पन्ध्रौ पुस्तकालय दिवसको अवसरमा बोल्दै मन्त्री पौडेलले नयाँ पुस्तामा पुस्तक पढ्ने रुची हराउँदै गएको भन्दै चिन्ता प्रकट गर्नु भयो ।
‘अहिलेको पुस्तामा पुस्तक पढ्ने रूची हराउँदै गएको छ,’ शिक्षामन्त्री पौडेलले भन्नुभयो, ‘पुस्तक पढ्ने रूची हराउँदै जाँदा अध्ययन अनुसन्धान क्षेत्र कमजोर हुने अवस्था आयो ।’
पुस्तक एवम् पत्रपत्रिका पढ्ने बानी हराउँदै गएको बताउँदै मोबाइलमा आउने शीर्षक हेरेर धारणा बनाइ हिड्ने चलन शुरु भएको बताउनुभयो ।
‘लेखकले लेखेको कविता, उपन्यास र कथा पढ्ने तिर पछिल्लो पुस्तामा हराउँदै गयो,’ उहाँले भन्नुभयो,’ ‘त्यसले सामाजिक समवेदना र जिम्मेवारीबोध, संस्कार र संस्कृति हराउँदै गयो ।’
उहाँले आधुनिकिकरणको नाममा संस्कार र संस्कृति भुल्ने पुस्तकहरु पढ्ने, धारणा बनाउने जस्ता क्रियाकलापहरु कमजोर हुँदै गएको बताउनुभयो ।