धनगढी । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दिलेन्द्रप्रसाद बडूले उत्पादनशील तथा रोजगारमुखी व्यवसायको विकासलाई सरकारले प्राथमिकता दिएको बताउनुभएको छ ।
नेपाल इँटा उद्योग महासङ्घको १४औँ वार्षिक साधरणसभाको आज धनगढीमा उद्घाटन गर्दै मन्त्री बडूले सरकार इँटा उद्योगी व्यवसायीको समस्या समाधानका लागि गम्भीर रहेको बताउनुभयो ।
निर्यातमुखी उत्पादनलाई प्राथमिकता दिने सरकारी नीति रहेको उल्लेख गर्दै उहाँले उत्पादनशिल उद्योग व्यवसायमा जोड दिनुपर्ने बताउनुभयो ।
मन्त्री बडूले विकास निर्माणमा इँटा व्यवसायीको महत्त्वपूर्ण भूमिका रहेको छ, व्यवसायीलाई सहुलियत दरमा बैङ्किङ कर्जा प्रवाह व्यवस्था गर्न सरकार लागि परेको बताउनुभयो ।
समारोहमा पूर्व मन्त्री तथा सांसद नारदमुनी राना, प्रदेश सरकारका आर्थिक मामिला मन्त्री प्रकाशबहादुर रावल, उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री मानबहादुर धामी, महासङ्घका अध्यक्ष शङ्कर बहादुर चन्दले लगायतले धारणा राख्नुभएको थियो ।
त्यस अवसरमा विभिन्न व्यक्तिलाई सम्मान गरिनुका साथै स्थानीय लोकसंस्कृति, भेसभुसा झल्कने झाँकी प्रस्तुत गरिएको थियो । साधारण सभामा देशभरबाट इँटा व्यवसायीको सहभागिता रहेको सेती महाकाली इँटा व्यवसायी सङ्घका अध्यक्ष विनोद शाहले बताउनुभयो ।
मा प्रकाशित