यो संचालनसँगै भैरहवा क्षेत्रको विद्युत आपूर्तिमा सुधार भएको छ। मन्त्री भुसालले आन्तरिक रुपमा खपत गरेर बढी भएको विद्युत अन्तर्राष्ट्रिय बजारमा बिक्री गरी आत्मनिर्भर अर्थतन्त्र निर्माण गर्ने लक्ष्यका साथ काम भइरहेको बताईन्। ऊर्जा सचिव शुशीलचन्द्र तिवारीले प्रसारण लाइन र सबस्टेसन निर्माण पछि यस क्षेत्रको विद्युत आपूर्तिमा सुधार हुने विश्वास व्यक्त गरे।
प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले प्रसारण लाइनबाट बुटवल, भैरहवा क्षेत्रको विद्युत आपूर्तिमा सुधार भएको र उद्योगहरुलाई मागेजति विद्युत दिन सकिने अवस्था बनेको बताए। ‘लोडसेडिङ अन्त्य एउटा काम थियो। अब वितरण प्रणाली सुधार र २४ सै घण्टा भरपर्दो तथा गुणस्तरीय विद्युत आपूर्तिका लागि काम भइरहेको छ। अहिले आन्तरिक रुपमा खपत गरेर बढी भएको विद्युत दैनिक रुपमा झण्डै १० करोड रुपैयाँको निर्यात गरिरहेका छौं,’ उनले भने।
बुटवल सबस्टेसनबाट मैनहिया सबस्टेसनसम्मको १८ किलोमिटर बुटवल-लुम्बिनी प्रसारण लाइन सम्पन्न भएको हो। १३२/३३/११ केभी मैनहियामा सबस्टेसन सञ्चालनमा ल्याएर विद्युत आपूर्ति दिइएको आयोजना प्रमुख हरि पाण्डेले बताए। स्थानीय रुपमा विद्युत आपूर्तिका लागि मैनहिया सबस्टेसनबाट ३३ केभीका १० वटा फिडर निकालिने छ।
त्यसमध्ये ४ वटा फिडर अहिले संचालनमा रहेका छन्। विद्युतको भोल्टेजको सुधारका लागि २ वटा क्यापासिटर बैंक राखिएको छ। १८ किलोमिटर प्रसारण लाइनमा ५७ वटा टावरको निर्माण गरिएको छ। बुटवल बजार क्षेत्रमा १३२ केभी प्रसारण लाइनलाई २ किलोमिटर भूमिगत गरिएको छ। प्रसारण लाइन आयोजनाको प्रारम्भिक काम आर्थिक वर्ष २०७०/७१मा सुरु भएको थियो।