देशमा लगानीमैत्री वातावरण बनाइदिन सरकारसँग अनुरोध

आर्थिक परिवेश

 

काठमाण्डौ । उद्योगी व्यवसायीहरुले देशमा लगानीमैत्री वातावरण बनाइदिन सरकारसँग अनुरोध गर्नु भएको छ ।
अर्थमन्त्री जनार्दन शर्मासँग मंगलवार मन्त्रालयमा भएको निर्यात प्रवद्र्धन सम्बन्धमा व्यवसायी एवं सरोकारभएकाहरुसँगको छलफल कार्यक्रममा उद्योगी व्यवसायीहरुले सिमेन्ट, स्टिल, जुत्ता, धागो, चियालगायतका वस्तु निर्यात गरी लाभान्वित हुनसक्ने अवस्था भए पनि लगानीमैत्री वातावरण अभावका कारण मुलुकले ठूलो लगानी गुमाउनु परेको धारणा व्यक्त गर्नुभयो ।
अन्तरकृया कार्यक्रममा उद्योगी व्यवसायीहरुले जारी आर्थिक तथा मौद्रिक नीतिमा रहेका अस्पष्टता र एकापसमा बाझिएका व्यवस्थाहटाउनुपर्ने, सङ्घीय र प्रदेश सरकार तथा स्थानीय तहको कर नीति, घोषित अनुदान रकम समयमै प्राप्त नभइरहेको अवस्था, सम्पत्ति शुद्धीकरणसम्बन्धी कानूनी व्यवस्था लगायतले कारोवार गर्न समस्या भएको गुनासो गर्नु भएको थियो ।
कार्यक्रममा उहाँहरुले बैंकको चर्काे ब्याजदर तथा नाफामुखी प्रवृत्ति, तरलता अभाव, खुला सिमाना र चोरी निकासी समस्या, जग्गा प्राप्तिसम्बन्धी नियमावलीको अभावलगायतका समस्याका कारण व्यवसायी प्रताडित भएको बताउनुभयो ।
अन्तरकृयामा अर्थमन्त्री जर्नादन शर्माले उद्योगी–व्यवसायीसम्बद्ध सघं संस्थाले झेल्नुपरेको समस्या समाधानका लागि आवश्यक कानूनी तथा नीतिगत व्यवस्था तर्जुमा गरी व्यवसायीको पक्षमा काम गर्न कुनै कसर बाँकी नराख्ने दृढता व्यक्त गर्नुभयो ।
अर्थमन्त्री शर्माले सरोकार भएको उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयसहित नेपाल राष्ट्र बैंकसँग समन्वय गरी व्यवसायीका जायज माग यथाशक्य छिटो सम्बोधन गरिने प्रतिबद्धता व्यक्त गर्दै उहाँँले स्वदेशमै गुणस्तरीय वस्तु उत्पादनसहित आयात कम गरी निकासी वृद्धि गर्ने पक्षमा अघि बढेकोले सरकारलाई सहयोग गर्न व्यवसायीसँग अनुरोध गर्नुभयो ।
नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष शेखर गोल्छाले भारतलाई बेचेको दरमा ऊर्जा उपलब्ध गराउन, चालु आवको बजेटमा उल्लेख गरिए बमोजिमको आठ प्रतिशतले हुने रकम अनुदानस्वरूप दिन, चर्काे ब्याजदरसहित तरलताको अभाव अन्त्य गर्न, उत्पादनमूलक उद्योगलाई तुलनात्मकरूपमा सुविधा उपलब्ध गराउन सरकारको ध्यानाकर्षण गराउनु भयो ।

छलफलमा सहभागी  गोल्डस्टार सुजको मार्केटिङ र ब्राण्डिङ डाइरेक्टर बिदुषी राणाले निर्यात उद्योगको चुनौति पछिल्लो दिनमा बढ्दो गएको बताउनुभयो । ‘गोल्डस्टारले विगतमा दुई अर्ब रुपैयाँसम्मको निर्यात गर्न सफल भएको थियो। पछिल्लो दिनमा यसमा निकै गिरावट आएको छ। यसो हुनुमा उद्योगको उत्पादन लागत बढ्नु हो,’ राणाले बताउनुभयो, ‘सरकारले निर्यातमा दिने भनेको ८ प्रतिशत अनुदान अझै कार्यान्वयन गर्न नसकेकाले अझै अफ्ट्यारो थपिएको छ।’

छलफलमा नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष शेखर गोल्छा, गोल्डस्टार सुजको मार्केटिङ र ब्राण्डिङ डाइरेक्टर बिदुषी राणा, नेपाल चेम्बर अफ कमर्शका उपाध्यक्ष कमलेस अग्रवाल र नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर बमबहादुर मिश्रको सहभागी थियो।


मा प्रकाशित