काठमाण्डौ । नेपाल नागरिक उड्डयन प्राधिकरणले देशैभर संचालित प्याराग्लाइडिङ उडान बन्द गर्न निर्देशन दिएको छ । अर्को सूचना जारी नहोउन्जेल साहसिक खेल मानिने प्याराग्लाइडिङ देशैभर बन्द गराउने निर्णय गरिएको प्राधिकरणका प्रवक्ता जगन्नाथ निरौलाले बताउनुभयो ।
हवाई क्षेत्रसँग सम्बन्धित यो खेललाई सुरक्षित र थप व्यवस्थपित बनाउनका लागि तत्कालका लागि मुलुकभर संचालित प्याराग्लाइडिङ उडान बन्द गराउने निर्णय गरिएको प्रवक्ता निरौलाले जानकारी दिनुभयो ।
पोखरास्थित नवौँ राष्ट्रिय खेलका क्रममा प्याराग्लाइइडिङ गर्दै गर्दा एकजना सहभागीको मृत्यु भएका कारण यो निर्देशन दिइएको हो । आइतबार प्याराग्लाइडिङ गर्दा गर्दै खसेर घाइते भएका आर्मी क्लबका खेलाडी निसिम थापाको मृत्यु भएको हो।
आइतबार बिहान साढे ११ बजे कास्की पोखरा महानगरपालिका १८ सराङकोटस्थित नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत क्रस कन्ट्री प्याराग्लाइडिङ खेल चलिरहेको अवस्थामा प्याराग्लाइडिङबाट खसेर घाइते भएका थिए । ब्लु स्काई कम्पनीको प्याराग्लाइडिङ खेल भइरहेको समयमा अचानक खसेको थियो । घाइते थापाको उपचारको क्रममा पोखरास्थित मेट्रोसिटी अस्पतालमा मृत्यु भएको हो ।
प्राधिकरणले हाल देशभर १२ वटा जिल्लामा व्यावसायिक उडानका लागि ७० वटा भन्दा बढी कम्पनीलाई उडान इजाजत दिएको जनाएको छ । हाल कास्कीमा मात्रै ६० कम्पनीहरुले प्याराग्लाइइडिङ उडान सेवा दिँदै आएका छन् ।