काठमाण्डौ । नेपाल उद्योग वाणिज्य महासंघले अर्थतन्त्रमा आन्तरिक र वाह्य कारणले वहुआयामिक प्रभाव परिरहेको भन्दै तरलता व्यवस्थापनका लागि नेपाल राष्ट्र बैंकको ध्यानाकर्षण गराएको छ । महासंघले ब्याजदर स्थायित्व, वाह्य क्षेत्र व्यवस्थापन एवं मुल्य स्थिरताका लागि नेपाल राष्ट्र बैंकले विशेष पहल गर्नुपर्ने भन्दै सोमवार ध्यानाकर्षण गराएको हो ।
महासंघका अध्यक्ष शेखर गोल्छा नेतृत्वको टोलीले राष्ट्र बैंकका कार्यवाहक गभर्नर डा निलम ढुंगाना सहितका उच्च अधिकारीहरूलाई भेटेर उक्त आग्रह गरेको हो ।
भेटमा महासंघका अध्यक्षले नेपालको निजी क्षेत्र सम्भवतः हालसम्मकै कठिन अवस्थाबाट गुज्रिरहेको बताउनु भयो । अध्यक्ष गोल्छाले भन्नु भयो, ‘ब्याजदर स्थायित्व चालु पूँजी कर्जा सम्बन्धी नयां व्यवस्थाको स्थगन आदि उपायका माध्यमबाट केन्द्रिय बैंकले निजी अर्थतन्त्र चलायमान बनाउनु पर्दछ ।‘
भेटका क्रममा कार्यवाहक गभर्नर ढुंगानाले महासंघका सुझाव अध्ययन गरि समाधानका उपाय खोजिने बताउनुभयो ।
नेपाल उद्योग वाणिज्य महासंघद्धारा प्रस्तुत सुझाव
पंूजीको लागत अत्यधिक बढेको र बजारमा लगानी योग्य रकमको अभाव हुँदा ब्याजदर बढिरहेको उल्लेख गरेको छ । कच्चा पदार्थ इन्धन लगायतको मुल्य समेत बढेकाले बजार भाउ निरन्तर उकालो लागिरहेको र लामो समयदेखि धेरै वस्तुको आयात प्रत्यक्ष एवं परोक्ष रुपमा रोकिएको महासंघले सुझावमा भनेको छ । वहुपक्षीय प्रभावका कारण बजार चलायमान हुन नसक्दा राजश्व असुली पनि करिब २० प्रतिशतले घटेको परिस्थितिमा काम गर्नु सरकार एवं केन्द्रिय बैंकका लागि चुनौतिपूर्ण छ । सुझावमा महासंघले एउटा व्यवस्थापन गर्दा अर्कोमा समस्या हुनसक्ने तर्फ केन्द्रिय बैंक चनाखो हुनुपर्ने अवस्था तर्फ पनि सचेत गराएको छ ।
राष्ट्र बैकलाई बुझाइएको सुझावमा महासंघले निक्षेपको ब्याजदर बढदैमा निक्षेप वढन नसकेको तर कर्जाको ब्याज महंगिएर निजी क्षेत्र नकारात्मक रुपमा प्रभावित भएको विगतको अनुभवलाई समेत मनन गरि ब्याजदरलाई वान्छित सिमा भित्र राखि अर्थतन्त्र चलायमान हुने नीति अवलम्बन गरिनुपर्छ महासंले सुझावमा भनेको छ ।