काठमाण्डौ । बंगलादेशका लागि नेपाली राजदूत घनश्याम भण्डारीले बंगलादेशका प्रधानमन्त्री शेख हसिनासँग मंगलवार उहाँकै निवास ढाकास्थित गणभवनमा भेटवार्ता गर्नु भएको छ ।
सो अवसरमा नेपाल–बंगलादेशबीच व्यापार, पारवहन, ऊर्जा, शिक्षा, पर्यटनलगायतका क्षेत्रमा केन्द्रमा राखेर सम्बन्ध सुदृढ गर्ने विषयमा छलफल भएको थियो ।
राजदूत भण्डारीले विगत ५० वर्षमा नेपाल–बंगलादेश सम्बन्धको सरकारी तथा जनता–जनता तहमा निरन्तर विकास भएकोमा जोड दिँदै पछिल्लो समय असल छिमेकीको भावनामा द्विपक्षीय सम्बन्ध बढ्दै गएको बताउनु भयो । ऊर्जा सहयोगमा जारी छलफल उत्साहजनक रहेको र यो ‘विन–विन इन्टरप्राइज’लाई साकार पार्नु महत्वपूर्ण कोसेढुङ्गा हुने उनले बताउनु भयो ।
जवाफमा बंगलादेशी प्रधानमन्त्री हसिनाले व्यापार, ऊर्जा, पर्यटन र जलवायु परिवर्तनका क्षेत्रमा उपलब्ध सम्भावना र सम्भावनालाई प्रकाश पार्दै ‘बीबीआईएन’ ढाँचा मार्फत विस्तारित कनेक्टिभिटीको महत्वमा जोड दिनु भयो ।
प्रधानमन्त्रीले हसिनाले राजदुत भण्डारीलाई बंगलादेश सरकारको पूर्ण सहयोग र सहकार्यको आश्वासन दिँदै सफलताको कामना गर्नु भयो । राजदूत भण्डारीले आफ्नो कार्यकालमा दुई देशबीचको सम्बन्धलाई प्रगाढ बनाउन काम गर्ने प्रतिबद्धता व्यक्त गरे ।
भेटका अवसरमा बंगलादेशी प्रधानमन्त्रीका प्रमुख सचिव मोहम्मद जियाउद्दीन, प्रधानमन्त्रीका प्रमुख सचिव डा. अहमद कैकाउस, प्रधानमन्त्री कार्यालय र बंगलादेशको परराष्ट्र मन्त्रालयका वरिष्ठ अधिकारीहरुको उपस्थिति रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ ।
मा प्रकाशित