१८ बैशाख, काठमाडौं। सिन्धुपाल्चोकमा रहेकाे नेपाल र चीन बीचकाे तातोपानी नाका ८ वर्षपछि साेमवारबाट सञ्चालनमा आएको छ। नाकाबाट निकासी सुरु भएको हो। नाकाबाट तीन कन्टेनर सामान चीन निकासी भएको तातोपानी भन्सार कार्यालयले जनाएको छ।
मंगलबार पनि नेपाली हस्तकलाका सामान निकासीको तयारी रहेको उनले बताए। भूकम्पपछि यो नाका पूर्ण रुपमा संचालनमा आउन सकेको थिएन। भूकम्पपछि पहिरो र कोभिडका कारण नाका संचालनमा आउन नसकेको हो। यो नाकाबाट आयात भने भइरहेको थियो।
यो नाकाबाट दैनिक १० कन्टेनर सामान आयात भने भइरहेको छ। नाका खुले पनि नेपाली चालक र सहचालक चीनतर्फ जान पाउँदैनन्। अहिले पनि चिनियाँ पक्षले सीमा क्षेत्रमा कन्टेनरमा सामान ल्याउने र त्यहीबाट नेपाली पक्षले अनलोड गरेर सामान ल्याउने गरेका छन्। केसीले प्रक्रियागत समस्या समाधानका लागि चिनियाँ पक्षसँग छलफल भइरहेको बताउनु भयाे ।
गत महिना नेपाली र चिनियाँ अधिकारीहरुबीच ल्हासामा भएको बैठक पछि नाका भूकम्प अघिकै अवस्थामा सञ्चालन गर्ने सहमति भए अनुसार आजदेखि नेपाल र चीन दुवैतर्फबाट आयात निर्यात खुल्ला भएको हो । यसअघि चीनबाट सामग्री ल्याउन एकतर्फी सञ्चालनमा रहेको तातोपानी नाका पहिले जस्तै नेपालबाट पनि सामग्री लैजाने कार्य सुचारु भएको छ ।
सिन्धुपाल्चोक १ का प्रतिनिधि सभा सदस्य माधव सापकोटाले कूटनीतिक पहलकदमीले नाका दोहोरो सुचारु भएको र छिट्टै मानव आवतजावत पनि सुरु हुने जानकारी दिनुभयो ।