१८ बैशाख, काठमाडौं। गैंडाकोटमा निर्माण सम्पन्न मौलाकाली केबलकार सोमबारदेखि औपचारिक रूपमा संचालनमा आएको छ।
प्रधानमन्त्री पुष्पकमल दाहालले सोमबार गैंडाकोट–१ स्थित मौलाकाली केबलकारकाे बटम स्टेशनमा ताम्रपत्र अनावरण गर्दै केबलकार सञ्चालनको औपचारिक उद्घाटन गर्नु भएकाे छ ।
उद्घाटन समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री दाहालले शिथिल अर्थतन्त्रलाई उकास्न मौलाकाली जस्ता पर्यटकीय पूर्वाधारको महत्त्व रहने उल्लेख गर्दै सरकार, निजी क्षेत्रलाई सहजीकरण गर्न प्रतिबद्ध रहेको बताउनु भयाे ।
उहाँले तनहुँ, नवलपुर र चितवन जिल्ला पर्यटकीय हब बन्दै गएको बताउँदै त्यस क्षेत्रलाई आर्थिक समृद्धि क्षेत्रको रुपमा विकास गर्ने बताउनु भयाे ।
गण्डकी प्रदेश प्रमुख पृथ्वीमान गुरुङले मौलाकाली केवलकारको निर्माणसँगै त्यस क्षेत्रको आर्थिक तथा सामाजिक विकासमा सहयोग पुग्ने विश्वास व्यक्त गर्नु भयाे ।
मौलाकाली केबलकारका अध्यक्ष चन्द्रप्रसाद ढकालले देशको शिथिल अर्थतन्त्रलाई उकास्न पर्यटकीय पूर्वाधार निर्माणमा ध्यान केन्द्रित गर्नुपर्ने बताउनु भयाे ।
नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष समेत रहेका ढकालले निजी क्षेत्रले तोकिएको समयमा, तोकिएकै बजेटमा, तोकिएकै गुणस्तरमा काम गर्न सक्षम रहेको उदाहरण मौलाकाली केबलकार बनेको जिकिर गर्नु भयाे ।
करिब १,२०० मिटर लम्बाईंको केबलकारमा १४ वटा गोण्डोला छन्। फेदीबाट केबलकार चढेपछि ५ मिनेटमा मन्दिरनजिकै रहेको टप स्टेशनसम्म पुग्न सकिन्छ।