मौद्रिक नीतिलाई समीक्षा मार्फत लचिलाे पारी बैंकदर एक प्रतिशतले घटाइयाे

आर्थिक परिवेश

२९ वैशाख, काठमाडौं ।  नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्ष २०७९/८० को मौद्रिक नीतिको तेस्रो त्रैमासिक समीक्षामार्फत बैंकदर एक प्रतिशत बिन्दुले घटाएको छ ।

राष्ट्र बैंकले नीतिगत दरलाई सात प्रतिशतमा यथावत् राख्दै विद्यमान बैङ्क दरलाई एक प्रतिशत बिन्दुले घटाएर सात दशमलव पाँच प्रतिशत कायम गरेको हो ।

ब्याजदर करिडोरअन्तर्गतका अन्य दरलाई भने यथावत् राखिएको राष्ट्र बैंकले जनाएको छ ।

मौद्रिक नीतिको तेस्रो त्रैमासिक समीक्षामार्फत केही मौद्रिक व्यवस्था खुकुलो बनाइएको राष्ट्र बैंकले जनाएको छ ।

“मौद्रिक नीतिको कार्यदिशालाई मुद्रास्फीति र विदेशी विनिमय सञ्चितिको वर्तमान अवस्था र सम्भावित परिदृश्यको आधारमा समष्टिगत आर्थिक स्थायित्व कायम राख्दै आन्तरिक आर्थिक गतिविधि चलायमान बनाउन सहयोग पुरयाउने गरी सजगतापूर्वक केही लचिलो बनाइएको छ”, राष्ट्र बैंकले भनेको छ ।

राष्ट्र बैंकले साढे आठ प्रतिशतको बैंकदरमा उपलब्ध गराउँदै आएको दैनिक तरलता सुविधालाई अर्धवार्षिक समीक्षादेखि नीतिगत दर सात प्रतिशतमा उपलब्ध गराउने व्यवस्था गरेकाले अहिले अन्तरबैंक ब्याजदरमा एक दशमलव पाँच प्रतिशत बिन्दुले कमी आएको छ ।

मौद्रिक नीतिको तेस्रो त्रैमासिक समीक्षाबाट दैनिक तरलता सुविधालाई नीतिगत दरमा प्रदान गरिने व्यवस्थामा निरन्तरता दिइएको छ ।

बैङ्क तथा वित्तीय संस्थाबाट जारी भएका ऋणपत्रलाई कर्जा–निक्षेप अनुपात (सीडी रेसियो) गणना गर्ने प्रयोजनका लागि स्रोत (निक्षेप) को रुपमा समेत गणना गर्न पाउने विद्यमान व्यवस्थालाई २०८० पुस मसान्तसम्मको लागि निरन्तरता दिइएको छ ।

मौद्रिक नीतिको समीक्षामार्फत राष्ट्र बैंकले पुनरकर्जासम्बन्धी केही नयाँ व्यवस्था गरिएको छ । पछिल्लो छ महिनाको अवधिमा वृद्धिदर नकारात्मक देखिएका क्षेत्रका लागि यस्तो पुनरकर्जा उपलब्ध गराइनेछ ।

“राष्ट्रिय तथ्याङ्क कार्यालयले प्रकाशन गर्ने तथ्याङ्कको आधारमा पछिल्ला दुई त्रैमाससम्म लगातार ऋणात्मक वृद्धि हुन गएका आर्थिक क्षेत्रसँग सम्बद्ध ऋणीले सुविधा पाउने गरी कोषमा उपलब्ध स्रोतको सीमाभित्र रही पुनरकर्जा सुविधा उपलब्ध गराउने व्यवस्था मिलाइने छ”, मौद्रिक नीतिको समीक्षामा भनिएको छ ।

त्यस्तै, होटल तथा रेष्टुराँ, पशुपन्छी पालन, निर्माण क्षेत्रसँग सम्बन्धित कर्जा र रु पाँच करोडसम्मको अन्य क्षेत्रमा प्रवाह भएको कर्जालाई २०८० असार मसान्तभित्र पुनः संरचना/पुनर्तालिकीकरण गर्नसक्ने व्यवस्था ल्याइएको छ ।

त्रैमासिक समीक्षा सार्वजनिकपछि शुक्रवार  दिउँसो अायाेजित सम्मेलनमा गर्भनर महाप्रसाद अधिकारिले  ऋणको पुनर्संरचना/पुनर्तालिकीकरणले ऋणीहरुलाई मद्दत गर्ने भन्दै समीक्षामार्फत लिइएको लचकताले ब्याजदर घट्ने आशा गर्न सकिने बताउनु भयाे ।

‘अहिले हामीले नौ महिनाको अवस्था हेरेर निकै सजगतापूर्वक मौद्रिक नीतिलाई लचिलो बनाएका छौं,’ गभर्नर अधिकारीले पत्रकारहरुलाई सम्बोधन गर्दै भने, ‘बैंक दर घटाएका छौं,गर्भनर महाप्रसाद अधिकारिले भन्नुभयाे ।

पुनर्संरचना/पुनर्तालिकीकरणको सुविधा दिएका छौं, त्यो पनि बैंकहरु आफैंले गर्न सक्ने गरी। यसले शिथिल रहेको अर्थतन्त्रलाई गतिशील बनाउँछ भन्ने हाम्रो विश्वास छ,गर्भनर अधिकारिले भन्नुभयाे ।’

मा प्रकाशित