१७ जेठ, नयाँ दिल्ली, भारत । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ केही बेर अघि भारतको राजधानी नयाँ दिल्ली पुग्नुभएको छ ।
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको निमन्त्रणामा चार दिने औपचारिक भ्रमणका क्रममा नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै उहाँ दिल्ली पुग्नुभएको हो ।
प्रधानमन्त्री दाहाललाई नयाँ दिल्लीस्थित इन्दिरा गान्धी अन्तर्राष्ट्रिय विमानस्थलमा भारतका सङ्घीय विदेश मामिला तथा संस्कृति राज्यमन्त्री मीनाक्षी लेखीले स्वागत गर्नुभएको थियो ।
त्यस क्रममा विमानस्थलमा भारतका लागि नेपाली राजदूत डा शङ्कर शर्मा, नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवलगायतको उपस्थिति थियो ।
प्रधानमन्त्रीलाई विमानस्थलमा सांस्कृतिक झाँकीले स्वागत गरिएको थियो । त्यसैगरी उहाँलाई भारतमा स्वागत गरिएका ब्यानरहरू पनि सडकका किनारमा राखिएको थियो ।
यस भ्रमणमा प्रधानमन्त्रीका साथमा अर्थ, परराष्ट्र, ऊर्जा, भौतिक पूर्वाधार तथा यातायात, उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री, सचिवहरू तथा उद्योगी, व्यवसायीहरूको सहभागिता छ ।
बुधवार साँझ प्रधानमन्त्री दाहालको सम्मानमा नयाँ दिल्लीस्थित नेपाली दूतावासमा स्वागत कार्यक्रमको आयोजना गरिएको छ । सो अवसरमा प्रधानमन्त्री दाहालले भारतमा रहेका नेपाली समुदायसँग अन्तरक्रिया गर्नुहुनेछ ।
बुधवार साँझ भारतका लागि नेपाली राजदूत डा शङ्कर शर्माले प्रधानमन्त्रीको सम्मानमा रात्रि भोजको आयोजना गर्नुहुनेछ ।
बुधवार प्रधानमन्त्री पुष्पकमल दाहाल ४ दिने भारत भ्रमणका लागि नयाँ दिल्ली प्रस्थान गर्नुभएको थियाे ।
प्रधानमन्त्री दाहाललाइ त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अति विशिष्ट कक्षमा सभामुख देवराज घिमिरे, राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिना, उपप्रधान एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठ, मन्त्रीहरू, तीन वटै सुरक्षा निकायका प्रमुखहरू तथा नेपाल सरकारका उच्च अधिकारीहरुले बिदाइ गर्नुभयो ।
यसअघि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अति विशिष्ट कक्षमा नेपाली सेनाको एक टुकडीले प्रधानमन्त्री प्रचण्डको सम्मानमा सम्मान गारत सलामी अर्पण गरेको थियो ।
प्रधानमन्त्री प्रचण्डले भ्रमणका क्रममा भारतका राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्री लगायत उच्च अधिकारीहरूसँग भेटवार्ता गर्नुहुने परराष्ट्र मन्त्रालयले जनाएको छ ।
भारतका प्रधानमन्त्री नरेन्द्र मोदीको निमन्त्रणमा भारत भ्रमणमा गएको प्रधानमन्त्री प्रचण्ड सहितको प्रतिनिधि मण्डल यही ज्येष्ठ २० गते शनिबार बेलुका काठमाडौँ फर्कने कार्यक्रम रहेको छ ।
मा प्रकाशित