२० जेठ,वीरगञ्ज । वीरगञ्ज आइसिपी भन्सार नाका हुँदै चालु आर्थिक वर्ष २०७९/०८० को १० महिनामा २५ अर्ब ८६ करोड ४८ लाख मूल्य बराबरका नेपाली उत्पादन निर्यात भएको छ ।
वीरगञ्ज नाका हुँदै भारत, डेनमार्क, अस्ट्रेलिया, अमेरिका, चीन, रुस, फिलिपिन्स, थाइल्यान्ड लगायतका मुलुकमा नेपाली उत्पादन तथा जडीबुटी निकासी भएको वीरगञ्ज आइसिपी भन्सार कार्यालयका प्रमुख भन्सार प्रशासक डिलाराम पन्थीले जानकारी दिनुभयो ।
उक्त नाका हुँदै २ अर्ब ८६ करोड ८४ लाख मूल्य बराबरको प्रशोधित भटमासको तेल, ४८ करोड १२ लाख मूल्य बराबरको पाम आयल भारत निर्यात भएको छ ।
त्यसैगरी ७४ करोड ९४ लाख मूल्य बराबरको डाबर नेपालले उत्पादन गरेको जुस भारत निर्यात भएको छ । ६९ करोड २० लाख ३ हजार मूल्य बराबरको सूर्यमुखी प्रशोधित तेल ६८ करोड ६२ लाख ७ हजार मूल्य बराबरको सेन्थेटिक यार्न समेत वीरगञ्ज नाकाबाट भारततर्फ निर्यात भएको प्रमुख भन्सार प्रशासक पन्थीले बताउनुभयो ।
वीरगञ्ज नाकाबाट १ अर्ब ६३ करोड ७६ लाख ८ हजार मूल्य बराबरको जमोठ कपडा, १ अर्ब ५ करोड ८१ लाख ३ हजार मूल्य बराबरको पिना निर्यात भएको छ । सो अवधिमा प्लास्टिकका सीट, फिल्म, फ्वाइल पत्ता लगायतका सामग्री १४ अर्ब ७९ करोड ५९ लाख ८१ हजार मूल्य बराबरको भारत तथा तेस्रो मुलुक निर्यात भएको छ भने ६ अर्ब ७९ करोड ६६ लाख ४० हजार मूल्य बराबरको तयारी कपडा निर्यात भएको छ ।
त्यसैगरी २२ करोड ९२ लाख १२ हजार मूल्य बराबरको कपडाका बोरा झोला ६३ करोड ९ लाख २७ हजार मूल्य बराबरको उनी गलैँचा तेस्रो मुलुक निर्यात भएको वीरगञ्ज भन्सार कार्यालयको तथ्याङ्कले देखाएको छ ।
वीरगञ्ज नाकाबाट नेपाली कपडाका साथै प्लाष्टिकको बिर्को ढकनी, लिड सिसा, दन्त मन्जन, स्पोर्ट सुज, सेन्थेटिक सुज, होमियोथिक, शुद्ध आयुर्वेदिक, र युनानी औषधीको कच्चा पदार्थ, कुकुर तथा बिरालोको खाना, फ्याटी एसिड आयल, बाद्ययन्त्र, राँगा भैँसीको तयारी छाला लगायतका सामान भारत तथा तेस्रो मुलुक निर्यात भएको आइसिपी भन्सार कार्यालय वीरगञ्जका प्रमुख भन्सार अधिकृत राजेन्द्र प्रसाद चुँडालले जानकारी दिनुभयो ।
मा प्रकाशित