२२ जेठ, काठमाण्डौ । प्रधानमन्त्रीको हालै सम्पन्न भारत भ्रमणमा ऊर्जा क्षेत्रमा भएका सहमति ऐतिहासिक र दीर्घकालीन हितमा केन्द्रित रहेको भन्दै स्वतन्त्र ऊर्जा उत्पादकको संस्था नेपाल (इपान)ले स्वागत गरेको छ ।
इपानले समोवार आयोजना गरेको पत्रकार सम्मेलनमा नेपालको ऊर्जा क्षेत्रको विकासका लागि दीर्घकालीन महत्वका हिसाबले प्रधानमन्त्रीको भ्रमण सफल रहेको टिप्पणी गरेको छ ।
भारत भ्रमणका क्रममा भारत सरकारले आगामी १० वर्षभित्र १० हजार मेगावाट बिजुली लैजाने घोषणा गर्नु स्वागत योग्य भएको इपानको भनाइ छ ।
इपानका अध्यक्ष कृष्णप्रसाद आचार्यले दुवै देशको ऊर्जा सचिवले दीर्घकालीन ऊर्जा व्यापार सम्बन्धी सहमतिमा हस्ताक्षर गर्नुभएको र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले संयुक्त पत्रकार सम्मेलनमा समेत सो विषयलाई महत्वका साथ सम्बोधन गर्नुभएको बताउनु भयो ।
सरकारको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम र बजेटमा ऊर्जा व्यापारमा निजी क्षेत्रलाई समेत सहभागी गराउने र अनुमति दिने प्रबन्ध गरिएको प्रति इपानले प्रशन्नता व्यक्त गरेको छ ।
बिजुलीको अन्तर्राष्ट्रिय बजारको प्रबन्ध भएको तथा सरकारले समेत अनुमति दिएको अवस्थामा ऊर्जा क्षेत्रमा महत्वपूर्ण सुधार र विकासका लागि मार्ग प्रशस्त भएको इपानको ठहर छ ।
मा प्रकाशित