२६ जेठ, काठमाडौं। सरकारले आगामी आर्थिक वर्ष २०८०/८१ का लागि प्रस्तुत गरेको बजेटले नेपालको सूचना प्रविधि उद्योगमा सकारात्मक अवसर सृजना भएको प्रतिक्रिया सूचना प्रविधि क्षेत्रका कम्पनीहरू दिएका छन्।
नेपाल एशोसिएशन फर सफ्टवेयर र आइटी सर्भिसेस कम्पनिज (एनएएस-आइटी) ले सरकारप्रति आभार प्रकट गर्दै आगामी दिनमा पनि आइटी क्षेत्रको विकासका लागि निरन्तर सहयोगको अपेक्षा गर्ने बताएको छ।
एनएएस-आइटी नेपाल सफ्टवेयर र आइटी कम्पनीहरूको विकास र प्रवर्द्धनका लागि यसै वर्ष मार्चमा स्थापना भएको संस्था हो। यसमा ३८ वटा सफ्टवेयर र आइटीमा काम गर्ने कम्पनी आबद्ध छन्।
आगामी बजेटमा एनएएस-आइटीले नेपालको आइटी क्षेत्रको विकासका लागि बजेट अगाडि सुझाएको सबै बुँदाहरू समेटिएको एनएएस-आइटीका अध्यक्ष तथा क्विकफक्स टेक्नोलोजीका सीइओ रिचन श्रेष्ठले बताउनुभयाे ।
उहाँका अनुसार सरकारले संघको नीति संशोधन अनुरोधलाई स्वीकार गरेको छ। उनले भने, ‘जसअनुरूप बजेटमा आइटी क्षेत्रका लागि न्यूनतम एफडीआइको सीमा हटाइएको छ, जसले टेक कम्पनीहरूका लागि नयाँ सम्भावनाहरूको ढोका खोलेको छ।’
यसले नेपाली आइटी कम्पनीहरूको पहुँचलाई फराकिलो बनाउने पनि उहाँकाे भनाइ छ ।
बजेटले टेक कम्पनीहरुलाई आफ्नो वैदेशिक आम्दानीको १० प्रतिशत विदेशमा शाखा कार्यालय स्थापना गर्न लगानी गर्ने अनुमति दिएको छ।
यसले अझ प्रभावकारी मार्केटिङ र सेल्स मार्केटिङ, गुणस्तरिय कस्टमर सर्भिसलाई सहयोग पुर्याउनुको साथै ग्राहकबीच उनीहरूको डेटा र बौद्धिक सम्पत्ति सुरक्षा सम्बन्धी चिन्तालाई पनि कम गर्न मद्दत पुग्ने श्रेष्ठले सुनाउनु भयाे ।
साथै आगामी बजेटले सरकार, निजी क्षेत्र र आइटी क्षेत्रबीचको सहकार्यको आवश्यकतालाई मनन गरेको छ। एनएएस-आइटी सरकार र अन्य सरोकारवालाहरूसँग नजिकबाट काम गर्न प्रतिबद्ध रहेको पनि उहाँकाे भनाइ छ ।
‘सरकारले गरेका यी सकारात्मक परिवर्तनहरूसँगै नेपाल प्रविधिको हब बन्न अग्रसर छ,’ श्रेष्ठले भन्नु भयाे ।
मा प्रकाशित