०४ असार,काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ बाढीपहिरो प्रभावित क्षेत्रको अवलोकन गर्न साेमवार दिउँसो सङ्खुवासभाको तुम्लिङटार पुग्नुभएको छ ।
आइतबार परेको अविरल वर्षाका कारण आएको बाढी पहिरोमा परी सङ्खुवासभामा १ जनाको मृत्यु १८ जनाभन्दा बढी बेपत्ता भएका थिए ।
प्रधानमन्त्रीले प्रमुख जिल्ला अधिकारीसँग जिल्लामा राहत र उद्धारका लागि भइरहेका गतिविधिबारे जिज्ञासा राख्नुभएको थियो । उहाँले मृतकप्रति श्रद्धाञ्जली अर्पण गर्दै शोक सन्तप्त परिवारजनमा समवेदना प्रकट गर्नुभयो ।
प्रधानमन्त्रीले उद्धार, राहत र बेपत्ताहरूको खोजी कार्यमा जिल्लाका सबै सरकारी संयन्त्रलाई निर्देशन र अन्य स्वयंसेवी संघ संस्थामा अपील पनि गर्नुभयो ।
प्रधानमन्त्रीले तत्कालै सडक सञ्जाल जोड्न बेलिब्रीज, घरबार विहीनलाई तत्काल स्थानान्तरण र भोलिको आवासको लागि व्यवस्था मिलाउन आवश्यकता अनुसार सरकारले तदारुकताका साथ काम गर्ने पनि बताउनुभयो।
उहाँले भन्नुभयो, “म अस्ति मात्र मेलम्ची गएको थिएँ, त्यहाँ जसरी आकस्मिक बाढीले धनजनको क्षति भएको थियो । यहाँ पनि त्यसरी नै आकस्मिक रूपमा प्रकोप देखियो ।”
प्रधानमन्त्री आजै बाढी पहिरो प्रभावित ताप्लेजुङ र पाँचथरको अवलोकन गरी अपराह्न काठमाडौँ फर्कनुहुनेछ ।
मा प्रकाशित