पोखरास्थित अन्तर्राष्ट्रिय विमानस्थलमा बुधबार विहान पहिलो अन्तर्राष्ट्रिय उडान

आर्थिक परिवेश

०६,असार काठमाडौं ।   आन्तरिक उडान मात्रै भइरहेको पोखरास्थित अन्तर्राष्ट्रिय विमानस्थलमा बुधबार विहान पहिलो अन्तर्राष्ट्रिय उडान भएको छ ।
चीनको छेन्दुबाट आएको सिचुआन एयरलाइन्स बुधवार विहान ९ बजे पहिलो अन्तर्राष्ट्रिय विमानको रुपमा अवतरण भएको हो ।

पहिलो अन्तर्राष्ट्रिय उडानका रूपमा ८४ जना यात्रु बोकेर आएकोे चिनियाँ सिचुआन एयरलाइन्सलाई स्वागत गर्न पोखरेलीहरू बाजागाजासहित विमानस्थल पुगेका थिए ।

विमानका यात्रुहरूलाई पर्यटन व्यवसायीले नेपाली ढाका टोपी, माला र खादाले स्वागत गरेका छन् ।

पहिलो चार्टर्ड उडान सुरु भएको अवसरमा आयोजित कार्यक्रममा गण्डकी प्रदेश प्रमुख पृथ्वीमान गुरुङले विमानस्थल निर्माणमा चीन सरकारले खेलेको भूमिकाको उच्च प्रशंसा गर्दै विमानस्थल अन्तर्राष्ट्रिय विमान अवतरण हुनुु समग्र गण्डकी प्रदेशको पर्यटन विकासका लागि राम्रो सुरुवात हो भन्नुभयो ।

सोही उडानमा आउनु भएका राष्ट्रि यसभाका अध्यक्ष गणेशप्रसाद तिमल्सिनाले पहिलो अन्तर्राष्ट्रिय चार्टर्ड उडान संगै उडानलाई नियमित गर्नेतर्फ सम्बद्ध सरकारी निकायहरु लाग्नु पर्ने सुझाव दिनुभयो ।

सो अवसरमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीले नेपाल र चीनबीचको सम्बन्ध युगौंँदेखि रहँदै आएको उल्लेख गर्दै सगरमाथालाई शान्ति र मित्रताको प्रतिकका रूपमा लिने गरिएको बताउनुभयो ।

नेपालका लागि चिनियाँ राजदूत छन् सोङले पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको डिजाइन र निर्माण चीन सरकारको सहयोगमा भएको बताउँदै अन्तर्राष्ट्रिय उडानको सफल अवतरण गराइएको बताउनुभयो ।

गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले नेपाल र चीनबीचको पुरानो सम्बन्धलाई अझै मजबुद बनाउँदै लैजानुपर्ने आवश्यकता औँल्याउँदै गण्डकी प्रदेशमा रहेको कोरला नाकालाई सहज बनाउँदै व्यापारिकसम्बन्ध बढाउन चाहेको बताउनुभयो ।

पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले अन्तर्राष्ट्रिय उडानका माध्यमबाट आफूहरूले पोखरालाई अन्तर्राष्ट्रिय बजारसँग जोड्न चाहेको बताउनुभयो ।

चार्टर्ड उडानसँगै वर्षौदेखि पाेखरामा अन्तर्राष्ट्रिय उडानमार्फत विदेशी पर्यटक ओराल्ने सपना पूरा भएको पोखरेली पर्यटन व्यवसायीले बताएका छन्

उडानलाई नियमित गर्नेतर्फ लाग्नु जरुरी भएको बताउँदै व्यवसायीहरूले यसमा राज्यस्तरबाट चासो दिइनुपर्ने बताए ।

पोखरा पर्यटन परिषद्का उपाध्यक्ष कृष्ण भण्डारीले चार्टर्ड उडानले व्यवसायी उत्साहित भएको बताउँदै ढिलै भएपनि अन्तर्राष्ट्रिय उडान हुनु पोखरा र समग्र गण्डकीका लागि खुसीको खबर भएको बताउनुभयो ।

मा प्रकाशित