पञ्चबर्षीय योजनाको तर्जूमा शुरु : स्वाधिन, समुन्नत र सामाजिक न्यायसहितको सम्वृद्धि लक्ष्य

आर्थिक परिवेश

०६,असार काठमाडौं ।   राष्ट्रिय योजना आयोगले १६ औँ पञ्चबर्षीय योजनाको तर्जूमा शुरु गरेको छ ।
योजना आयोगले १६ औ योजनाको तयारीको लागि आयोगका पूर्व उपाध्यक्ष र विज्ञसँग छलफल गरी योजना तर्जूमा शुरु गरेको हो ।

आर्थिक वर्ष २०८१÷८२ देखि कार्यान्वयनमा आउने गरी तर्जुमा शुरु गरिएको १६ औँ योजनामा स्वाधिन, समुन्नत र सामाजिक न्यायसहितको सम्वृद्धि हाँसिल गर्ने लक्ष्य योजना आयोगले अघि सारेको छ ।

छलफलमा योजना आयोगले शुसासन,सम्वृद्धि र सामाजिक न्याय सहितको समाजवाद उन्मुख र पूर्ण रुपले मुलुकको संरचनात्मक रुपान्तरण गर्ने गरी योजनाको मस्यौदा अवधारण अघि सारेको छ ।

आयोगका उपाध्यक्ष डा. मिनबहादुर श्रेष्ठले संरचनात्मक रुपान्तरण मार्फत सुशासन, समृद्धि र सामाजिक न्याय हासिल गर्ने राष्ट्रिय आकांक्षका साथ सोह्रौँ योजनाको तयारी सुरु गरेको जानकारी दिनु भयो ।

छलफलमा पूर्व उपाध्यक्षहरु डा. युवराज खतिवडा,दीपेन्द्र बहादुर क्षेत्री, पृथ्वीराज लिगल, डा. जगदिशचन्द्र पोखरेल, डा. दिनेशचन्द्र देवकोटा तथा अर्थ शास्त्रीहरु सहभागि हुनु भएको थियो ।

छलफलमा विज्ञ तथा पूर्व उपाध्यक्षहरुले कार्यान्वयन गर्न सक्ने र मुलुकको आर्थिक विकास तथा समाजवादको आधारशिला तयार गर्ने गरी योजना तर्जुमा गर्न सुझाव दिनु भएको योजना आयोगको आर्थिक क्षेत्र हेर्ने सदस्य डा. रामकुमार फूयालले जानकारी दिनु भयो ।

बुधबारदेखि ३ दिनसम्म विभिन्न विषयगत क्षेत्रगत विषयमा विज्ञहरुसँग आयोगले सल्लाह सुझाव लिने कार्यक्रम रहेको छ ।

मा प्रकाशित