काठमाडौंलाई सांस्कृतिक शहरकाे रूपमा विकास गर्ने नीति तथा कार्यक्रम पारित

आर्थिक परिवेश

८ असार, काठमाडौं ।  काठमाडौं महानगरपालिकाको आगामी आर्थिक वर्ष  २०८०/८१ को नीति तथा कार्यक्रम पारित भएको छ ।

शुक्रबार राष्ट्रिय सभा गृहमा बसेको नगरसभाबाट आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम पारित गरेको हो ।

‘सांस्कृतिक शहर, समृद्ध महानगर’को नारा सहित आएको नीति तथा कार्यक्रममा १७ जना कार्यपालिका सदस्यहरुले आ–आफ्नो धारणा राख्नु भएकाे  थियाे ।

नगरसभा सदस्यहरुले सरसफाइमा प्रविधि र उपकरण थप गर्ने, विद्यालयमा दिइँदै आएको दिवा खाजाको रकम पुनरवलोकन गर्नुपर्ने विषय उठाउनु भएकाे थियाे  ।

यस्तै लामो समयदेखि करार सेवामा रहेका कर्मचारीहरुलाई प्रक्रिया पूरा गरेर स्थायित्व प्रदान गर्नु पर्ने, निःशुल्क वितरण हुने औषधि वडाबाट प्रदान गरिनुपर्ने, सहकारीमा रहेको जोखिमयुक्त बचतलाई जोगाइदिनु पर्ने लगायतका सुझाव उनीहरुले दिएका थिए ।

अधिवेशनको पहिलो बैठकमा महानगरपालिकाका प्रमुख बालेन्द्र शाहले चालु आर्थिक वर्षका कार्यक्रमलाई ५२ बुँदामा समीक्षा गर्दै आगामी वर्षका लागि ११ बुँदामा नीति र १२५ बुँदामा कार्यनीति प्रस्तुत गर्नु भयाे  ।

‘सांस्कृतिक सहर, समृद्ध महानगर’ महानगरपालिकाको दीर्घकालीन सोच भएको भन्दै यसैमा आधारित रहेर सहरी विकास, सुरक्षा र व्यवस्थालाई नीति तथा कार्यनीतिमा समटिएको उनले बताए।

नारै नाराले भरिएकाे नीति तथा कार्यक्रम

महानगरकाे नीति तथा कार्यक्रममा ‘एक वडा एक पार्क र एक खेल मैदान, सफा, स्वच्छ, सुन्दर, धुलोरहित महानगर, सुलभ फार्मेसी, स्वास्थ्य प्रवर्द्धन केन्द्रको स्थापना र सञ्चालन, कम्तीमा ५ हजार नयाँ रोजगारीको सृजना, जस्ता विषयहरू रहेका छन ।

किसानहरूलाई अर्गानिक खाद्य तथा तरकारीका आत्म निर्भर बनाउन सहयोग, सबै सडक कालोपत्रे गर्ने, खाल्डाखुल्डीरहित बनाउने, कम्तीमा १ लाख बिरुवा रोप्ने कार्यक्रम नीतिमा समेटिएकाे प्रमुख शाहले बताउनु भयाे ।

वान स्टप सर्भिस सेन्टरमा आधारित यातायात प्रणाली सञ्चालन गर्ने, परम्परागत खाद्य तथा पेय पदार्थको ब्राण्डिङ गरेर निर्यात गर्ने, अधिकतम जनसंख्या लाभान्वित हुने   कुरा पिन नीतीका मुख्य विषाय रहेका छन्  ।

१० वटा महानगर गौरवका योजना 

नीति तथा कार्यक्रममा ३ वर्षभित्र निर्माण सम्पन्न हुने १० वटा महानगरका गौरवका योजना सञ्चालन गर्ने, सहरी सेवा, सुविधा र सहरी शासनका सवाललाई दिगो बनाउन महानगर स्वर्णिम योजना सञ्चालन गर्ने नीतिका मुख्य विषय रहेको महानगरपालिकाले जनाएको छ।

सभामा शिक्षा, स्वास्थ्य, पूर्वाधार, संस्कृति, सम्पदा तथा पर्यटन, वातावरण व्यवस्थापन, संस्थागत विकास तथा सुशासन, राजस्व तथा वित्त व्यवस्थापन, सहरी यातायात, कानुन तथा मानव अधिकार, कृषि तथा पशुपंक्षी रहेका छन् ।

त्यसतै सामाजिक विकास, खेलकुद, सहकारी, अन्तरराष्ट्रिय सम्बन्ध, विपद् व्यवस्थापन, सहरी विकास तथा भवन मापदण्ड, सार्वजनिक निजी साझेदारी, सूचना तथा प्रविधि, हरियाली प्रवर्द्धन आयोजना, सहरी योजना आयोग सम्बन्धी कार्यनीति पेस भएका थिए।

‘गरिखाने शिक्षा, महानगरको इच्छा’ 

‘गरिखाने शिक्षा, महानगरको इच्छा’, ‘एक विद्यालय एक नर्स’, ‘एक विद्यालय एक सामाजिक सहजकर्ता’, ‘सुलभ स्वास्थ्य सेवा, नागरिकलाई टेवा’, ‘सुलभ फार्मेसी’, ‘धुलोरहित काठमाडौं’, ‘सुन्दर महानगर’, ‘उज्यालो सहर, मेरो महानगर’ यस वर्षको कार्यनीतिमा समेटिएका छन्।

यस्तै, ‘संस्कृति, सम्पदा र पर्यटन, महानगरको धन’, ‘न्याय चौतारी’, ‘एग्रोपुलिङ’, ‘साथी महानगर’, ‘एक टोल, एक खेलकुद पूर्वाधार’, ‘डुबान समाधान’, ‘सुशासनका लागि अनलाइन सेवा’, ‘महानगरले देख्छ’, ‘मेरो रहर, हरित सहर’, ‘मिसन २१००’ कार्यलगायतका नारा नीतिमा समेटिएका छन् ।

महानगरले आगामी आवको नीति तथा कार्यक्रममा वन स्टप सर्भिस सेन्टरमा आधारित यातायात प्रणाली सञ्चालन गर्ने, परम्परागत खाद्य तथा पेय पदार्थको ब्राण्डिङ गरेर निर्यात गर्ने, १० वटा महानगर गौरवका योजना सञ्चालन गर्ने, शहरी सेवा, सुविधा र शहरी शासनका सवाललाई दिगो बनाउन स्वर्णिम योजना सञ्चालन गर्ने लगायतका कार्यक्रम समावेश छन् ।

मा प्रकाशित