अध्यक्ष तिमिल्सिनासँग दक्षिण कोरियाका राजदूत पार्ककाे शिष्टाचार भेटवार्ता

आर्थिक परिवेश

११ असार,काठमाडौँ ।  राष्ट्रियसभाका अध्यक्ष  गणेशप्रसाद तिमिल्सिनासँग आज नेपालका लागि नवनियुक्त दक्षिण कोरियाका राजदूत पार्क तइयोङले शिष्टाचार भेटवार्ता गर्नुभएको छ ।

अध्यक्षको कार्यकक्ष सिंहदरबारमा भएको भेटमा दुई देशबीचको सम्बन्ध, संसदीय अनुभव आदान प्रदान, हवाई उडान, पर्यटन तथा  आर्थिक विकास लगायतका विषयमा कुराकानी भएको छ ।

भेटमा अध्यक्ष तिमिल्सिनाले  दुई देशबीचको द्विपक्षीय सम्बन्ध तथा सहयोग अझ प्रगाढ र सुदृढ हुनेमा म विश्वस्त रहेको बताउँदै आगामी वर्ष नेपाल र कोरियाको कूटनीतिक सम्बन्ध स्थापना भएको पचासौँ वार्षिकोत्सवलाई नेपालको पर्यटन र आर्थिक विकासका लागि महत्वपूर्ण हुने गरि मनाउनुपर्ने कुरामा जोड दिनुभयो ।

अध्यक्ष तिमिल्सिनाले नेपालको आर्थिक विकासमा दक्षिण कोरियाको सहयोग उल्लेखनीय रहेको बताउँदै सामसुङले जस्तै अन्य कारखाना नेपालमा नै राखेर उत्पादन गर्न आग्रह गर्नुभयो ।

उहाँले अहिले कोरियामा नेपाली श्रमिकले काम गरिरहेको अवस्थामा नेपालमा नै कारखाना राख्दा श्रम समेत सस्तो हुने भएकाले कोरियाका कम्पनीलाई पनि व्यापारमा थप लाभ हुनसक्छ भन्नुभयो ।

उहाँले आफुँले कोरियाको औपचारिक भ्रमणका क्रममा पनि यस विषयमा कुरा राखेको कुरामा जोड दिनुभयो ।

अध्यक्ष तिमिल्सिनाले भविष्यमा नेपालको जलस्रोत, कृषि र पर्यटनका क्षेत्रमा पनि कोरियाली लगानी भित्रने विश्वास ब्यक्त गर्नुभयो ।

अध्यक्ष तिमिल्सिनाले कोरियाली पर्यटकहरूको नेपालप्रति आकर्षण रहेको र आगामी दिनमा पर्यटकको सङ्ख्या दोब्बर वृद्धि गर्ने उद्देश्यसहित काम अघि बढाउन सुझाव दिँदै नेपाल एयरलाइन्सको कोरियामा सिधा उडान सुरु गर्न पनि आग्रह गर्नुभयो ।

उहाँले यसले नेपाल आउने पर्यटकको सङ्ख्या वृद्धि हुने विश्वास ब्यक्त गर्नुभयो ।

उहाँले दुवै एयरलाइन्सले उडान सञ्चालन गर्दा भाडादर पनि सस्तो हुन जाने भएकाले नेपाली श्रमिक र कोरियाली पर्यटक दुवै लाभान्वित हुन सक्ने कुरामा ध्यानाकर्षण गराउनुभयो ।

राजदूत तइयोङले कोरियाको रोजगार क्षेत्रमा नेपाली कामदारको उल्लेख्य उपस्थिति रहेको बताउँदै कोरियामा सिकेको सिप र आर्जन गरेको पुँजीलाई नेपालमा फर्केर उद्योग तथा व्यवसायमा लगाउन आग्रह गर्नुभयो ।

उहाँले अहिले नेपाल फर्केपछि घर र गाडीमा लगानी गर्ने क्रम बढेकोमा उहाँले चिन्ता ब्यक्त गर्नुभयो । त्यसको साटो रोजगारी सृजना गर्दा देश र उहाँहरूलाई पनि फाइदा हुन सक्ने कुरामा उहाँको जोड थियो ।

उहाँले नेपाली श्रमिक शिष्ट, मेहनती र अनुशासित रहेको बताउँदै नेपालबाट जाने श्रमिकको सङ्ख्या आगामी दिनहरूमा बढ्दै जाने विश्वास ब्यक्त गर्नुभयो ।

उहाँले नेपाल र कोरियाको कूटनीतिक सम्बन्ध स्थापना भएको स्वर्ण जयन्तीको अवसरमा आफ्नो मुलुकले विशेष कार्यक्रम गर्ने योजना बनाएको बताउनुभयो ।

कोरियाको संसद्मा कोरिया–नेपाल मैत्री समूह गठन भएको जानकारी दिँदै राजदूत तइयोङले नेपालको संघीय संसद्ले पनि छिट्टै मैत्री समूह गठन गर्ने विश्वास व्यक्त गर्नुभयो ।

नेपाल विश्वकै दोस्रो ठूलो जनस्रोतको देश भएको बताउँदै उहाँले जलविद्युत लगायतका क्षेत्रमा आफ्नो मुलुक लगानी गर्न इच्छुक रहेको जानकारी दिनुभयो ।

मा प्रकाशित