१३ असार, काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहालले मुलुकको आर्थिक अवस्था सुधारको बाटोमा गएको र आर्थिक सूचकहरू सकारात्मक दिशातर्फ अगाडि बढेको दाबी गर्नु भएको छ ।
विनियोजन विधेयक २०८० अन्तर्गत विभिन्न शीर्षहरूमाथि छलफलको क्रममा उठेका प्रश्नहरूको जवाफ दिँदै प्रधानमन्त्री प्रचण्डले पछिल्लो समयमा पर्यटक सङ्ख्या दोब्बर बढेको, बैङ्कको ब्याजदर घटेको राजस्व चुहावटलाई नियन्त्रण गरेपछि राजश्व परिचालनमा वृद्धि भएको उहाँले बताउनुभयो ।
आफु प्रधानमन्त्री बन्दै गर्दा देशमा आर्थिक संकट भएको उल्लेख गर्दै आम मानिसले श्रीलङ्कासँग तुलना गरेको भए पनि अहिले अर्थतन्त्र जागेको र यो राष्ट्रको उपलब्धी भएको बताउनुभयो ।
प्रधानमन्त्री दाहालले अहिले सबै आर्थिक सूचकहरू सकारात्मक दिशातिर अगाडि बढिरहेको भन्नुहुँदै पछिल्लो ६ महिनायता कुल विदेशी विनिमय संञ्चिती २० दशमलव ९ प्रतिशतले वृद्धि भएको उल्लेख गर्नुभयो ।
प्रधानमन्त्री प्रचण्डले व्यवस्थाप्रति जनतामा जगाएको भरोसा आफ्नो सरकारको सबभन्दा ठूलो उपलब्धि भएको बताउनुभयो ।
प्रधानमन्त्री प्रचण्डले हाइ प्रोफाइल व्यक्तिहरू कानुनभन्दा माथि छन् भन्ने आम मनोविज्ञान बनेका बेला नक्कली भुटानी शरणार्थी प्रकरणमा सरकारले इतिहासकै ठूलो कारबाही गरेको र यसले जनतामा विश्वास जाग्न सुरु बताउनुभयो ।
प्रधानमन्त्री प्रचण्डले वैदेशिक रोजगारीलाई सुरक्षित र सम्मानित बनाउन यसबीचमा महत्वपूर्ण र ऐतिहासिक काम भएको भन्दै वैदेशिक रोजगारीमा गएका करिब दुई लाख नागरिक केही महिनाकै बीचमा सामाजिक सुरक्षा कोषमा जोडिनु आफैँमा ऐतिहासिक भएको बताउनुभयो ।
प्रधानमन्त्री प्रचण्डले राष्ट्रिय गौरवलगायत सबै विकास आयोजनाहरूलाई छिटो सम्पन्न गर्न निर्देशन र अनुगमन गरिनुका साथै प्रक्रियागत झन्झट हटाउन पहल गरिएको र नतिजाका आधारमा पुरस्कृत र दण्ड दिने नीति लिई आयोजना प्रमुखहरूलाई जिम्मेवार बनाइएको बताउनुभयो ।
प्रधानमन्त्री प्रचण्डले नेपाल नागरिकता (पहिलो संशोधन) विधेयक, २०७९ सम्माननीय राष्ट्रपतिबाट प्रमाणीकरण भई कार्यान्वयनमा आएसँगै अब नेपाली नागरिक आमाबाट नेपालमा जन्म भई नेपालमा नै बसोबास गरेको र बाबुको पहिचान हुन नसकेको व्यक्तिले वंशजको आधारमा नेपालको नागरिकता प्राप्त गर्ने संवैधानिक अधिकार सुनिश्चित भएको बताउनुभयो ।
उहाँले भारत र बङ्गलादेशलाई बिजुली बेच्ने ठाउँमा नेपाललाई पुर्याएको भन्दै पेट्रोलियम पदार्थको आयात न्यून बनाएर दशौं हजार मेगावाट बिजुली निर्यात गर्ने उत्साहजनक बिन्दुमा आइपुगेका र नेपाल उज्यालो भविष्यको नजिक आइपुगेको बताउनुभयो ।
मा प्रकाशित