थप औद्योगिक ग्राम स्थापना हुने स्थानमा कालीकोटाको रास्कोट, नरहरिनाथ, बाँकेको राप्तिसोनारी, पाल्पाको रम्भा, अर्घाखाँचीको शितगङ्गा, पर्साको जगरनाथपुर र बाराको महागढीमाई नगरपालिकामा रहेका छन् ।
यही असार १२ गतेको मन्त्रिपरिषद् बैठकले ती औद्यौगिक ग्राम स्थापना गर्ने निर्णय भएको सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले जानकारी दिनुभयो ।
मन्त्रिपरिषद्को निर्णयका बारेमा जानकारी दिन आज मन्त्रालयमा आयोजित नियमित पत्रकार सम्मेलनमा मन्त्री शर्माले सार्वजनिक सडकसम्बन्धी कानूनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयकको अवधारणापत्र अनुसार कानून तर्जुमा गर्न सैद्धान्तिक स्वीकृति प्रदान गर्ने निर्णय भएको बताउनुभयो ।
त्यस्तै संयुक्त राष्ट्रसङ्घको आयोजनामा न्यूयोर्कमा आयोजना हुने दिगो विकासका लागि उच्चस्तरीय सम्मेलनमा सहभागी हुन राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा मीनबहादुर श्रेष्ठ नेतृत्वको प्रतिनिधि मण्डल गठन गरिएको छ ।
यस्तै, चीनको राजधानी बेइजिङमा आयोजना हुने विकास प्रक्रियाका बारेमा अन्तर्राष्ट्रिय अनुभव विषय सम्मेलनमा भाग लिनसमेत उपाध्यक्ष श्रेष्ठ नेतृत्वको प्रतिनिधिमण्डललाई नै स्वीकृत प्रदान गरिएको मन्त्री शर्माले बताउनुभयो ।
आगामी साउन ८ देखि १० सम्म संयुक्त अरब इमिरेट्सको अबुधावीमा आयोजना हुने अन्तर्राष्ट्रिय सौर्य गठबन्धन (आईएसए)को क्षेत्रीय समितिको पाँचौँ बैठकमा सहभागी हुन ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री शक्तिबहादुर बस्नेतलाई सहभागी हुन स्वीकृति दिइएको छ ।
नेपाल सरकारका प्रवक्तासमेत रहनुभएका मन्त्री शर्माका अनुसार सरकारले रुपन्देहीको साविक खुदाबागर गाविसमा अवस्थित सरकारी जग्गा खुदाबागर आदर्श कलेजलाई लिजमा दिन स्वीकृति दिने निर्णय पनि गरेकाे छ ।
सिरहाको साविक लवटोली गाविसको जग्गा कर्जन्हा नगरपालिकालाई १५ शय्याको आधारभूत अस्पताल निर्माणार्थ उपयोग गर्न स्वीकृति दिने निर्णय भएको जानकारी दिनुभयो ।
ललितपुरको साबिक झरुवाराशीको सरकारी जग्गा तथा सार्वजनिक प्रकृतिको जग्गा जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र ललितपुरलाई अस्पताल भवन निर्माणार्थ प्रयोग गर्न स्वीकृति प्रदान गरिएको छ ।
जग्गा प्राप्ति ऐन, २०३४ बमोजिम गुर्भाकोट नगरपालिका सुर्खेत, मङ्गला गाउँपालिका म्याग्दी, चैनपुर नगरपालिका सङ्खुवासभा, गुजरा नगरपालिका रौतहट, मुसिकोट नगरपालिका गुल्मी र मालिका गाउँपालिका म्याग्दीको परियोजनाका लागि जग्गा प्राप्त गर्न स्वीकृति दिइएको छ ।
त्यस्तै बैठकले अजरबैजानको बाकुमा यही असार २० देखि २१ गतेसम्म आयोजना हुने असल राष्ट्रको मन्त्रिस्तरीय बैठक र असार १८ देखि १९ मा आयोजना हुने उच्च अधिकारीको बैठकमा नेपालको तर्फबाट प्रतिनिधित्व गर्न परराष्ट्रमन्त्री नारायणप्रकाश साउदको नेतृत्वमा नेपाली प्रतिनिधिमण्डल गठन गरेको छ ।
सरकारले यही असार २० देखि २२ गतेसम्म गणतन्त्र कोरियाको बुसानमा आयोजना हुने एक अन्तर्राष्ट्रिय बैठकमा सहभागी हुन सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री अमनलाल मोदी नेतृत्वको प्रतिनिधिमण्डललाई स्वीकृति दिएको छ ।
त्यस्तै, सरकारले नेपाल दूरसञ्चार प्राधिकरणको बजार व्यवस्थापन सदस्य पदमा नवराज अधिकारीलाई नियुक्त गर्ने निर्णय गरेको छ ।
त्यस्तै मन्त्रिपरिषद् विधेयक समितिबाट पेश भएको सवारी तथा यातायात व्यवस्था (नवौँ संशोधन) नियमावली, २०८० स्वीकृत गर्ने निर्णय भएको मन्त्री शर्माले उल्लेख गर्नुभयो ।