भ्रष्टाचारविरुद्ध अनुसन्धान रोकिन्न, थप तीव्र बनाइन्छ : प्रधानमन्त्री

आर्थिक परिवेश

१६असार, पोखरा । प्रधानमन्त्री पुष्पकमल दाहालले भ्रष्टाचारविरुद्ध अनुसन्धानको कार्यले थप तीव्रता पाउने बताउनुभएको छ ।

शनिवार  दिउँसो पोखराका सञ्चारकर्मीहरूसँग अन्तरक्रिया गर्दै प्रधानमन्त्रीले सो कुरा बताउनुभएको हो ।

“बजेट पास होला कि नहोला भन्ने तरङ्ग थियो। बिनियोजन विधेयक पारित भइसकेपछि यो तरङ्ग अन्त्य भएको छ“ प्रधानमन्त्रीले भन्नुभयो, “यसपटक हामीले भिन्न ढंगले नै काम सुरु गरेका छौँ ।

यो सामान्य मात्र नभएर विशिष्ट प्रकृतिको छ । जनताले भोगका समस्या सम्बोधन गर्न हाम्रो पूरै कोशिस भएको छ, प्रधानमन्त्रीले उल्लेख गर्नु भयाे ।

विदेशमा रहेका लाखौँ नेपाली श्रमिकहरूलाई सामाजिक सुरक्षा कोषमा आबद्ध गरेका छौँ, यसको दूरगामी अर्थ छ ।“

भ्रष्टाचार देशको बिकराल समस्या हो । नक्कली भुटानी शरणार्थी प्रकरण होस् वा ललिता निवास प्रकरण होस्, यसमा सरकार दृढताका साथ अगाडि बढेको छ। थप तीव्रताका साथ अघि बढ्छ ।“

“अर्थतन्त्र धरासायी नै हुन्छ कि भन्ने थियो। तर, अर्थतन्त्र बिस्तारै लयमा फर्किएको छ। यसपटकको भारत भ्रमण ऐतिहासिक भएको छ।

राष्ट्रको हितमा भारतसँग धेरै महत्त्वपूर्ण समझदारी भएका छन् प्रधानमन्त्रीले भन्नु भयाे ।

भारतीय प्रधानमन्त्रीले आफै सीमा समस्या हल गरिन्छ भन्ने कुरा ठूलो विषय हो। यसअघि भारतका कार्यकारी प्रमुखले यसबारे बोलेका छैन, “ प्रधानमन्त्रीले भन्नुभयो।

उहाँले भन्नुभयो, “पारवहन सन्धि पुनरावलोकन पनि महत्वपूर्ण निर्णय हो। विद्युत् व्यापार सम्झौता पनि सामान्य कुरा होइन।

१० वर्षमा १० हजार मेगावाट बिजुली निर्यात गर्ने समझदारी सामान्य होइन। यसले विद्युत् व्यापार पनि बढ्छ, लगानीको ढोका पनि खुल्छ।

यो आउने पिँढीले पनि सम्झिरहने काम हो।“

“एयर रुटका लागि भारतसँग कुरा गरिएको छ। छिट्टै त्यो निष्कर्षमा पुग्छ। चीन जाँदा पनि यो विषयमा छलफल हुन्छ, “ प्रधानमन्त्रीले भन्नुभयो ।

प्रधानमन्त्रीले भन्नुभयो, “प्रहरीले आफ्नो तर्फबाट अनुसन्धान गरिरहेको छ। प्रहरीलाई सरकारले आवश्यक निर्देशित गरिरहेको छ।

यो प्रक्रिया अगाडि बढिरहेको छ, निरन्तर अगाडि जान्छ ।“

मा प्रकाशित