१८ असार,काठमाडौँ ।  प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले देशमा सुशासन, समृद्धि र न्यायको पक्षमा अर्को शान्तिपूर्ण क्रान्तिको आवश्यकता रहेको बताउनु भएको छ ।

जि.पि कोइराला मेमोरियल कलेजको १२ औ बार्षिक तथा गिरिजाप्रसाद कोइरालाको शतबार्षिक समाराेहलाई सम्बोधन गर्नुहुँदै प्रधानमन्त्री प्रचण्डले सामान्य रुपमा देशमा सुधार हुने सम्भावना नभएकाले अर्को आन्दोलनको आवश्यकता रहेको बताउनु भएकाे हाे  ।

प्रधानमन्त्री दाहालले कम्युनिष्टहरुको एकताको कुराबाट नेपाली कांग्रेसपार्टीलाई तरङ्गित नहुन आग्रह गर्नुहुँदै कम्युनिष्टहरुबीच एकता भए पनि काँग्रेससँगको सम्बन्ध नटुट्ने बताउनुभयो ।

विगतका राजनीतिक आन्दोलनहरूमा कांग्रेस र कम्युनिष्ट मिलेर लडेकै कारण हालसम्मको उपलब्धि हासिल भएको उल्लेख गर्नुहुँदै प्रधानमन्त्री प्रचण्डले गणतन्त्रको रक्षा गर्दै शान्ति प्रक्रियाको कार्यभार पूरा गरी मुलुकलाई समृद्धितर्फ लैजान काँग्रेससँग सहकार्य गरिने प्रतिबद्धता पनि जनाउनुभयो ।

आफू नेतृत्व नलिए देश दुर्घटनामा जाने सम्भावना देखेर कहिले एमालेसँग र कहिले काँग्रेससँग गठबन्धन गरेर प्रधानमन्त्री बनेको प्रधानमन्त्री प्रचण्डले बताउनुभयो ।

त्यस अवसरमा प्रधानमन्त्री दाहालले कहिले कम्युनिष्टसँग कहिले काँग्रेससँग गठबन्धन गरेर सरकारको नेतृत्व गर्दा आफूलाई विचित्रको अनुभव भएको पनि बताउनुभयो ।

कार्यक्रममा प्रधानमन्त्री दाहालले पूर्वप्रधानमन्त्री गिरिजाप्रसाद कोइरालासँग बिताएका क्षणको स्मरण गर्दै गिरिजा आफ्नो प्रेरणाको स्रोत भएको पनि उल्लेख गर्नुभयो ।

उहाँले गिरिजाप्रसाद कोइरालालाई गणतन्त्र नेपालको पहिलो राष्ट्रपति नबनाएर आफूले गल्ती गरेकाे तर उहाँले भने देशलाई तपाइकाे अावश्यकता छ भन्ने गर्नु भएकाे पनि  प्रधानमन्त्री दाहालले बताउनु भयाे ।

प्नधानमन्त्री दाहालले जिपि काेइराला विश्विविद्यालय स्थापनाकाे प्रकृया अघि बढाउने प्रतिवद्ता  समेत व्यक्त गर्नु भयाे ।

कार्यक्रममा शिक्षाविद विद्यानाथ काेइरालाले जिपि काेइराला विश्विविद्यालय स्थापनाकाे अावश्यकता रहेकाे भन्दै पुर्विय र पाश्चात्य शिक्षाकाे केन्द्रकाे रूपमा जिपि काेइराला विश्विविद्यालयले अध्ययन अध्यापन तथा अनुसन्धानलार्इ  जाेड  दिने बताउनु भयाे  ।

क्याम्पस चिफ शिवप्रसाद अधिकारीले जि.पि कोइराला मेमोरियल कलेजको भवन नभएकाेले सरकारले  लिजमा भए पनि सरकारी जग्गा उपलब्ध गराउन प्रधानमन्त्री समक्ष अनुराेध गर्नु भयाे  ।