बर्षे खेतीको सिजनका लागि किसानलाई मल अभाव हुने मल आइपुगेन

आर्थिक परिवेश

१९ असार, काठमाडौं।  बर्षे खेतीको सिजनका लागि बजारमा यस पटक पनि किसानलाई मल अभाव हुने देखिएको छ ।

मल आयातको जिम्मेवारी पाएका सरकारी संस्थानहरु साल्ट ट्रेडिङ करपोरेशन र कृषि सामग्री लिमिटेडले समयमै आवश्यक मात्रामा मल आयात गर्न नसक्दा मल अभाव हुने स्थिति श्रजना भएको हो ।

दुवै कम्पनीले चालु आवमा युरिया दुई लाख ५१ हजार मेट्रिक टन र डिएपी एक लाख मेट्रिक टन आयात गरिसकेका छन् । तर पोटास मल भने हालसम्म आयात हुन सकेको छैन ।

चालु आवका लागि चार लाख ७८ हजार पाँच सय मेट्रिक टन मल आयात गर्न बोलपत्र आह्वान गरेकामा चाँडै नै एक लाख २७ हजार पाँच सय मेट्रिक टन मल आउने क्रममा रहेको कृषि तथा पशुपक्षी विकास मन्त्रालयका अधिकृत दीपक पौडेलले जानकारी दिनुभयो ।

उहाँका अनुसार युरिया ५० हजार मेट्रिक टन, डिएपी ७० हजार मेट्रिक टन र पोटास सात हजार पाँच सय मेट्रिक टन मल आयात गर्ने क्रममा छ ।

सातै प्रदेशका डिपोमा हाल ७८ हजार चार सय ७५ मेट्रिक टन मल मौज्दात छ । बजारमा वार्षिक करिब सात लाख मेट्रिक टन मलको माग छ ।

मुख्य बालीका रूपमा रहेको धान रोपाइँको समयमा मल अभाव भएको किसानको गुनासो छ ।

स्थानीय तहको समन्वयमा क्षेत्रफलको आधारमा वैज्ञानिक प्रणालीबाट मल न्यायोचितरूपमा वितरण गरिएको मन्त्रालयले जनाएको छ ।

किसानलाई सुविधा उपलब्ध गराउने उद्देश्यले सरकारले आयात गर्ने मलमा अनुदानको व्यवस्था गरिएको छ । चालु आवमा मल आयातका लागि ३१ अर्ब रकमको व्यवस्था गरिएको कृषि तथा पशुपक्षी विकास मन्त्रालयले जनाएको छ ।

मा प्रकाशित