उद्याेगीहरूले भेटे उद्याेग मन्त्री चोरी पैठारी नियन्त्रणमा कडाई गर्न माग

आर्थिक परिवेश

२० असार, काठमाडाैं ।  नेपाल उद्योग परिसंघ र उद्योग, वाणिज्य तथा आपूर्ती मन्त्री रमेश रिजालबीच बुधवार छलफल भएको छ ।

परिसंघका नवनिर्वाचित अध्यक्ष राजेशकुमार अग्रवाल नेतृत्वको परिसंघ पदाधिकारीहरुले बुधबार अर्थतन्त्र,औद्योगिक उत्पादन बृद्धिका लागि गरिनुपर्ने सुधारका विषयमा छलफल गर्नुभएको हो ।

परिसंघका नवनिर्वाचित अध्यक्ष अग्रवालले मन्दीमा रहेको अर्थतन्त्रलाई उकास्न अति आवश्यक रहेको त्यसका लागि प्रभावकारी बजेट कार्यान्वयन एवं निजी क्षेत्रको मनोबल बढाउनुपर्ने बताउनुभयो ।

उद्योगहरुको प्रबद्र्धनका लागि नीतिगत स्थिरतामा उहाँले जोड दिनुभयो । ठूला उद्योग तथा व्यवसायिक कृषिका लागि जग्गामा हदबन्दी हुन नहुने, चोरी पैठारी नियन्त्रण गर्न कडाई गर्नुपर्ने, उद्योगी व्यवसायीहरुलाई उधारो उठाउन सहजिकरण गर्न उधारो उठाउने ऐन  र अग्रिम जमानत कानून  ल्याउनुपर्ने बताउनु भयो ।

उहाँले औद्योगिक क्षेत्र सार्वजनिक निजी साँझेदारी (पीपीपी) मोडलमा संचालन गर्ने बजेटमा भएको घोषणा छिटो कार्यान्वयनमा लैजान पनि आग्रह गर्नुभयो ।


मेक इन नेपाल स्वदेशी अभियानमार्फत आत्मनिर्भर अर्थतन्त्र निर्माणका लागि सरकारी तथा सार्वजनिक संस्था, सेना, प्रहरीहरुले प्रयोग गर्ने उपभोग्य वस्तुहरुमा स्वदेशी वस्तुको प्रयोग अनिवार्य गरिनुपर्नेमा जोड दिनुभयो ।

सो अवसरमा मन्त्री रिजालले निजी क्षेत्रले नै उद्योग व्यवसाय गर्नुपर्ने उल्लेख गर्नुहुँदै सरकारले त्यसका लागि सहजीकरण गर्ने बताउनुभयो ।

उहाँले परिसंघ नयाँ कार्यसमितिलाई बधाई तथा सफल कार्यकालको  शुभकामना पनि दिनुभयो ।

उक्त छलफलमा उपाध्यक्षहरु विरेन्द्रराज पाण्डे, रोहित गुप्ता, अमित मोर, भीम घिमिरे, पदाधिकारीमा  स्थायी आमन्त्रित सदस्यहरु छायाँ शर्मा, गोकुल भण्डारी, महानिर्देशक दिपकराज जोशी सहभागी हुनुहुन्थ्यो ।

मा प्रकाशित