बिहिवार १० अर्ब रूपैयाको विकास ऋणपत्र जारी हुने

आर्थिक परिवेश

२० असार, काठमाडौँ    नेपाल राष्ट्र बैंकले यही असार २१ गते  बिहिवार १० अर्ब रूपैयाको विकास ऋणपत्र जारी गर्ने भएको छ ।

सरकारले आन्तरिक ऋण उठाउने उपकरणका रुपमा विकास ऋणपत्र प्रयोग गर्दै आएको छ ।

सरकारको तर्फबाट राष्ट्र बैंकले बोलकबोलमार्फत विकास ऋणपत्र २०८६ ‘च’ निष्काशन गर्न लागेको हो ।

छ वर्षे अवधिको यो विकास ऋणपत्र बैङ्क तथा वित्तीय संस्था, गैर–बैङ्क वित्तीय संस्था, बीमा कम्पनी, सङ्गठित संस्था तथा सर्वसाधारण नागरिकले समेत खरिद गर्न सक्नेछन् ।

यो ऋणपत्रको ब्याजदर बोलकबोल प्रक्रियाबाट निर्धारण हुनेछ भने ब्याजदर अर्धवार्षिक रुपमा भुक्तानी गरिने राष्ट्र बैंकले जनाएको छ ।

यो ऋणपत्र धितो राखी कर्जासमेत लिन पाइनेछ । ऋणपत्र निष्काशित रकमको ८५ प्रतिशत प्रतिस्पर्धी र १५ प्रतिशत अप्रतिस्पर्धी रुपमा बिक्री गरिने राष्ट्र बैंकले जनाएको छ ।

“अप्रतिस्पर्धी बोलवालालाई छुट्याइएको रकमको लागि पूरा बोल प्राप्त नभएमा बाँकी हुन आउने रकम प्रतिस्पर्धी बोलवालालाई बिक्री गरिनेछ ।

अप्रतिस्पर्धी बोलवालालाई छुट्याइएको रकमभन्दा बढी रकमको बोल प्राप्त हुन आएमा बोलवालालाई समानुपातिक रुपमा उक्त ऋणपत्रको रकम बाँडफाँट गरिनेछ”, राष्ट्र बैङ्कको सूचनामा भनिएको छ ।

त्यस्तै, ब्याजदर निर्धारण गर्दा बोलवालाले कबोल गरेको ब्याजदरलाई सानादेखि ठूलो क्रममा मिलाएर राखी बाँडफाँट गरिने रकमसम्ममा कायम भएको कटअफ् ब्याजदरलाई एकल ब्याजदर कायम गरिनेछ ।

यसरी कायम भएको एकल ब्याजदरमा ऋण उपलब्ध गराइने जनाइएको छ । ऋणपत्रका लागि घटीमा रू ५० हजार र बढीमा कुल निष्काशित रकमको सीमामा नबढाई  ५० हजार रूपैयाले भाग गर्दा निःशेष भाग जाने अङ्कका लागि आवेदन दिन पाइनेछ ।

मा प्रकाशित