बाढीपहिराेका कारण जलविद्युत् क्षेत्रमा आठ अर्ब ८४ करोड रुपैयाको क्षति भयो : इपान

आर्थिक परिवेश

२२ असार, काठमाडौं ।  स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था (इपान) नेपालले यही असार १ र २ गते पूर्वमा आएको बाढीपहिराका कारण जलविद्युत् क्षेत्रमा आठ अर्ब ८४ करोड रुपैयाको को क्षति पुगेको जनाएको छ ।

इपानले शुक्रवार प्रधानमन्त्री पुष्पकमल दाहाललाई भेटेर ताप्लेजुङ, सङ्खुवासभा, पाँचथर र भोजपुरमा असार १ र २ गते आएको बाढीबाट जलविद्युत् गृह बगाउँदा आठ अर्ब ८४ करोडको क्षति पुगेको जानकारी गराएको छ ।

इपानका अध्यक्ष गणेश कार्कीले पूर्वमा आएको बाढिपहिराबाट सञ्चालनमा रहेका १३ र निर्माणाधीन १७ गरी ३० जलविद्युत् आयोजनामा क्षति पुग्दा लगानीकर्ता ठूलो मारमा पर्नाका साथै अर्बौं लगानी जोखिममा परेको बताउनुभयो ।

त्यसका कारण एक सय ३३ मेगावाट उत्पादन ठप्प हुन पुगेको छ । तीस जलविद्युत् आयोजनामा क्षति पुग्दा २० लाख सर्वसाधारण तथा स्थानीय लगानीकर्ताको लगानी जोखिममा परेको अध्यक्ष कार्कीले बताउनुभयो ।

इपानको टोलीले क्षतिग्रस्त आयोजना पुनर्निर्माणका लागि नेपाल राष्ट्र बैँकबाट पुनर्कर्जा उपलब्ध गराउन, निर्माणाधीन आयोजनामा उत्पादन सुरु गर्नुपर्ने मिति दुई वर्ष थप गर्न, सञ्चालनमा रहेका आयोजनाको पुनः विद्युत् उत्पादन नभएसम्म रोयल्टी मिनाहा गर्न, पुनर्निर्माणका लागि आवश्यक पाटपुर्जा आयातमा भन्सार तथा भ्याट छुट दिन प्रधानमन्त्रीसमक्ष आग्रह गरेको छ ।

यस्तै क्षतिग्रस्त आयोजनाको विद्युत् उत्पादन अनुमतिपत्रको अवधि बढाएर ५० वर्ष कायम गर्न, आयोजना पुनर्निर्माणका लागि लिने कर्जा २० वर्षसम्म पुनर्तालिका गर्न समेत माग गरिएको छ ।

इपानले सरकारले विद्युत्को विकासमा तीव्र गति लिनका लागि ऊर्जा विकास दशक घोषणा गर्नुपर्ने, ऊर्जा क्षेत्रमा बैंकको लगानी १० वर्षमा २५ प्रतिशत बनाउनुपर्ने, लगायतका माग प्रधानमन्त्री समक्ष पेश गरेको छ ।

मा प्रकाशित