२३ असार, काठमाडौं । निर्यातकाे संभावना रहेकाे नेपालकाे पहाडी क्षेत्रमा उत्पादित बोतलबन्द पानी हङकङ र मकाउ निर्यात गर्न सुरु गरिएको छ ।
गुणस्तर परीक्षणका लागि हवाईमार्गबाट पठाइएको पानीको नमूना स्वीकृति भएपछि कम्पनीले गत जेठदेखि निर्यात सुरु गरेको वेभ नेपाल प्रालिका सञ्चालक विकास खत्रीले बताउनुभयो ।
हङकङको नियमअनुसार पानीको मापदण्ड पूरा गरी हङकङको एसएल ट्रेडिङ कम्पनीमार्फत कम्पनीले पानी हङकङ निर्यात सुरु गरिएको हो । हाल हङकङमा पानीको औसतमा मूल्य प्रतिबोतल ९० देखि एक सय रुपैया पर्छ ।
नेपालबाट निर्यात हुने तुलनात्मकरुपमा पानी सस्तो पर्ने भएकाले हङकङमा नेपाली कम्पनीले प्रतिस्पर्धा गर्नसक्ने विश्वास उत्पादक कम्पनीले लिएको छ ।
यद्यपि पानीको प्रोसेसिङदेखि निर्यातसम्मको खर्च जोडेपछि मात्रै पानीको बिक्री मूल्य कति राख्ने भन्ने निर्णय हुने कम्पनीको भनाइ छ ।
पहिलो चरणमा एक कन्टेनरमा ११ सय कार्टुन पानी हङकङ निर्यात भइसकेको र हङकङ र मकाउमा मात्रै मासिक १० कन्टेनर बराबरको पानी निर्यात गर्न सकिने सम्भावना रहेको छ ।
सञ्चालक खत्रीका अनुसार कम्पनीसँग हाल दैनिक औसतमा एक लाख लिटर पानी फिल्टरिङ र प्याकिङ गर्न सक्ने क्षमता छ ।
काठमाडौँको तारकेश्वर नगरपालिका–३ मा करिब १२ करोडको लगानीमा चार रोपनी क्षेत्रफलमा वेभ नेपाल प्रालिको उद्योग स्थापना भएको छ ।
कम्पनीले पानी शुद्धीकरणका लागि अमेरिकन प्रविधि ‘अल्ट्रा फिल्टरेसन’ प्रयोग गरेको छ । कम्पनीमा हाल प्रत्यक्ष ३३ जनाले रोजगारी पाइरहेका छन् ।
मा प्रकाशित