असार २९ गतेसम्म मुलुकभर ५३ प्रतिशत मात्र रोपाइ : कृषि मन्त्रालय
आर्थिक परिवेश
२९ असार, काठमाडाै ।समयमा बर्षा नहुँदा असार २९ गतेसम्म मुलुकभर ५३ प्रतिशत मात्र रोपाइ सम्पन्न भएको छ ।
कृषि तथा पशुपक्षी विकास मन्त्रालयले कृषि विभागले प्रदेशसंगको समन्वयमा तयार गरेको विभिन्न प्रदेशको असार २९ गते सम्मको धान रोपाइको तथ्यांक सार्वजनिक गर्दै त्यसताे जानकारी गराएकाे हाे ।
गत वर्ष २०७९ को असार २९ गतेसम्म ६५ प्रतिशत रोपाइ सम्पन्न भएको थियो । यस हिसावले गत वर्षको यस अवधिको तुलनामा १२ प्रतिशतको हाराहारीमा कम रोपाइ भएको देखिन्छ ।
विशेषगरि मधेश प्रदेश, कोशी प्रदेश र बागमती प्रदेशमा मनसुन शुरु हुन ढिलो भएको कारण यो कमी देखिएको हो ।
कर्णाली र सुदुरपश्चिम प्रदेशमा विशेषगरि गोरुमा लम्पी स्कीन रोगका कारण गोरुको अभाव भइ रोपाइ थोेरै प्रभावित भएको रिपोर्टिङ्ग भएको छ ।
विस्तारै मनसुन सक्रिय भइरहँदा, रासायनिक मलको उपलव्धता सुनिश्चित हुँदा र लम्पी स्कीन रोगको प्रभाव कम हुँदै जाँदा धान रोपाइँ हुने प्रतिशत क्रमश: बढ्दै जाने अपेक्षा गरिएको छ ।
नेपालमा १३ लाख ५७ हजार ८ सय १६ हेक्टर धानखेती गर्न याेग्य क्षेत्रफलमा ७ लाख १८ हजार ४ सय ७६ हेक्टरमा मात्र धान खेती लगाउने काम सम्पन्न भएकाे छ ।