३१ असार, धनुषा । नेपालकाे महोत्तरी भंगहादेखि भारतकाे जयनगरसम्म रेलसेवा सुरु भएको छ ।
भंगहा रेल्वे स्टेशनमा भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाले हरियो झण्डा हल्लाएपछि रेल जयनगरका लागि छुटेको हाे ।
नेपालको एक मात्र जनकपुर–जयनगर ब्रोडगेज रेल सेवा थप १७ किलोमिटर विस्तार भएको हो ।
यसअघि पहिलो चरणमा जनकपुरको कुर्थादेखि भारतको जयनगरसम्म ३५ किलोमिटरमा रेलसेवा संचालन हुँदै आएको थियो ।
१७ किलोमिटर थप भएपछि अब महोत्तरीको भंगहादेखि जनकपुर हुँदै जयनगरसम्म ५२ किलोमिटरमा रेल सेवा विस्तार भएको हो । रेल हेर्न भंगाहामा स्थानीय बासिन्दाको घुँइचो लागेको थियो ।
भारत सरकारको आर्थिक सहयोगमा निर्माण भएको रेलको थप १७ किलोमिटर भागको निर्माण सम्पन्न भएपछि भारतको इरकन कम्पनी लिमिटेडले नेपाल रेल्वे कम्पनीलाई जेठ १८ गते हस्तान्तरण गरेको थियो ।
ब्रोडगेज दुईसेट रेल १९ चैत २०७८ देखि कुर्थादेखि जयनगरसम्म सञ्चालनमा आएको थियो ।
सुरुमा दुईपटक मात्र सेवा दिने गरेको रेल गत मंसिरमा विवाहपञ्चमीको बेलादेखि दिनकै आउने जाने गरी चारपटक सञ्चालनमा थियो ।
साेमवारदेखि भने थप सेवा विस्तार गरी दैनिक दुबै रेल तीनपटक आउने र जाने गरी ६ पटक सेवा दिने नेपाल रेल्वे विभागका महाप्रवन्धक निरञ्जन झाले झाले बताउनु भयाे ।
भंगहा स्टेशनले भने दिनको दुईपटक साँझ र बिहान मात्र सेवा दिने छ ।