०१ साउन, काठमाडौं । साउन १ गतेदेखि पाँचतारे होटल, विदेशी मदिरा र १० लाख माथिका पत्थर जडित गरगहनामा दुई प्रतिशत विलासिता शुल्क लाग्ने भएको छ ।
आन्तरिक राजस्व विभागले ‘विलासिता शुल्कसम्बन्धी कार्यविधि,२०८०’ साउन १ देखि कार्यान्वयनमा ल्याउदै त्यस्तो शुल्क लाग्ने जनाएको हो ।
आर्थिक ऐन, २०८० को दफा २१ मा पाँचतारे वा सोभन्दा माथिका होटल तथा लक्जरी रिसोर्टले प्रदान गर्ने सेवा, आयातित मदिरा र १० लाखभन्दा बढीका हिरा, मोती, पत्थर जडित सुन वा बहुमूल्य धातुका गरगहनाको कारोबारमा विलासिता शुल्क लगाउने उल्लेख छ ।
आर्थिक ऐनको सोही व्यवस्था कार्यान्वयनका लागि विभागले कार्यविधि ल्याएको हो ।
कार्यविधिअनुसार सम्बन्धित करदाता सेवा कार्यालय, आन्तरिक राजस्व कार्यालय, मध्यमस्तरीय करदाता सेवा कार्यालय, ठूला करदाता कार्यालय र मदिराको हकमा सम्बन्धित भन्सार कार्यालयले उक्त कर उठाउने छन् ।
आर्थिक ऐन, २०८० को दफा २१ अनुसार तोकिएको समयभित्र विवरण पेस नगरेमा विवरण पेस गर्नुपर्ने मितिदेखि विवरण पेस नभएको मितिसम्म दाखिल गर्नुपर्ने शुल्कमा वार्षिक दुई दशमलव पाँच प्रतिशतका दरले हुन आउने रकम थप शुल्क लाग्नेछ ।
सेवा प्रदायक वा बिक्रेताले सङ्कलन गरेको शुल्क सम्बन्धित कार्यालयको कोड र तोकिएको राजस्व शीर्षमा अर्को महिनाको २५ गतेभित्र दाखिल गरिसक्नुपर्नेछ
मा प्रकाशित