०७ साउन, काठमाडौँ ।  नेपाल राष्ट्र बैंकले चालु आज आर्थिक वर्ष २०८०/८१ को मौद्रिक नीति सार्वजनिक गरेको छ ।

सार्वजनिक भएको मौद्रिक नीतिबाट राष्ट्र बैंकले नीतिगत दर घटाएको छ भने बैङ्क तथा वित्तीय संस्थाको अनिवार्य नगद अनुपात र वैधानिक तरलता अनुपातलाई यथावत् राखेको छ ।

त्यस्तै, बैंकदर यथावत् राखिएको छ भने निक्षेप सङ्कलनको बोलकबोल दरलाई घटाइएको छ ।

 नेपाल राष्ट्र बैंकले निजी क्षेत्रमा जाने ऋण वृद्धि दरलाई थप घटाएको छ। गत वर्ष १२.६ प्रतिशतको लक्ष्य राखेको राष्ट्र बैंकले यसपाली ११.५ प्रतिशत लक्ष्य निर्धारण गरेको छ।

१२.६ प्रतिशतको लक्ष्य राख्दा पनि ऋण ६ प्रतिशतभन्दा बढ्न सकेको थिएन। गत आर्थिक वर्षको आर्थिक वृद्धि दर २ प्रतिशत हुने प्रक्षेपण छ।

चालु वर्ष सरकारले ६ प्रतिशतको आर्थिक वृद्धि दर लक्ष्य लिएको छ। यसका लागि राष्ट्र बैंकले ११.५ प्रतिशत ऋण विस्तार गर्ने प्रक्षेपण गरेको छ।

असार मसान्तसम्म कुल ४८ खर्ब ७९ अर्ब ऋण प्रवाह भएको थियो। त्यसको ११.५ प्रतिशत ऋण विस्तार गर्दा कुल ५ खर्ब ६१ अर्ब रुपैयाँ थपिने छ।

“आन्तरिक तथा बाह्य आर्थिक परिदृश्यलाई दृष्टिगत गरी नीतिगत दरलाई ५० आधार बिन्दुले घटाइ छ दशमलव पाँच प्रतिशत कायम गरिएको छ”, मौद्रिक नीतिमा भनिएको छ, “बैंकदरलाई साढे सात प्रतिशतमा यथावत् राखी निक्षेप सङ्कलन बोलकबोल दरलाई पाँच दशमलव पाँच प्रतिशतबाट घटाएर चार दशमलव पाँच प्रतिशत कायम गरिएको छ ।”

राष्ट्र बैंकले सञ्चालन लक्ष्यका रुपमा लिने भारित औसत अन्तर बैङ्क ब्याजदर बैङ्क दरभन्दा उच्च र निक्षेप सङ्कलन दरभन्दा न्यून भएमा दोस्रो बजार कारोबार र निक्षेप सङ्कलन बोलकबोल खुला गरिने जनाएको छ ।

त्यस्तै, बैङ्क दरमा स्थायी तरलता सुविधा र नीतिगत दरमा ओभरनाइट तरलता सुविधा उपलब्ध हुने व्यवस्थालाई यथावत् राखिएको छ ।

ब्याजदर करिडोरलाई प्रभावकारी बनाउन भन्दै राष्ट्र बैंकले ब्याजदर करिडोरको तल्लो सीमामा स्थायी निक्षेप सङ्कलन सुविधा उपलब्ध गराउने व्यवस्था गरिने जनाएको छ । बैङ्क तथा वित्तीय संस्थाको विद्यमान अनिवार्य नगद अनुपात र वैधानिक तरलता अनुपातलाई यथावत् राखिएको छ ।

चालु आर्थिक वर्ष २०८०/८१ को मौद्रिक नीति सार्वजनिक (पूर्णपाठ) :