काँकडभिट्टाबाट गत १ बर्षमा ६ अर्ब बढीको तरकारी र फलफुल आयात

आर्थिक परिवेश

९ साउन, झापा ।  एक वर्षको अवधीमा नेपालमा नै उत्पादन हुन सक्ने छ अर्ब भन्दा बढीको हरियो तरकारी र फलफुल पूर्वीनाका काँकडभिट्टाबाट नेपालमा आयात भएको छ ।

गत एक बर्षमा उक्त नाका हुदै ६ अर्ब २९ करोड ९१ लाख ४९ हजार रुपैया बराबरको तरकारी र फलफूल आयात भएको हो ।

काँकडभिट्टास्थित प्लान्ट क्वारेन्टिन कार्यालयका सूचना अधिकारी चन्द्रकिशोर ठाकुरले आर्थिक वर्ष २०७९÷८० मा पूर्वी नाकबाट तीन अर्ब ३५ करोड नौ लाख मूल्य बराबरका ताजा तरकारी आयात भएको जानकारी दिनु भयो ।

यस अवधीमा उक्त नाका हुदै दुई अर्ब ९४ करोड ८१ लाख ६८ हजार मूल्य बराबरका फलफूल पनि आयात भएको छ ।

स्वदेशमा उत्पादन भइरहेको र अझ बढी उत्पादनको सम्भावना रहेको तरकारी र फलफूल नै भारतबाट आयात भएकोले गर्दा नेपालको व्यपारघाटा दिन प्रतिदिन बढदै गएको पाइएको छ ।

कार्यालयको तथ्याङ्क अनुसार आव २०७९÷८० मा पूर्वी नाका हुँदै ८० करोड ९९ लाख ८४ हजार मूल्य बराबरको २५ हजार तीन सय १२ मेट्रिकटन प्याज, ६० करोड ८१ लाख ६० हजार मूल्य बराबरको ३८ हजार १० मेट्रिक टन गोलभेँडा र ३१ करोड ९८ लाख आठ हजार मूल्य बराबरको १९ हजार ९८८ मेट्रिकटन करेला भारतबाट आयात भएको छ ।

एक वर्षमा पूर्वी नाकाबाट १९ करोड ६६ लाख आठ हजार मूल्यको तीन हजार ७२ मेट्रिकटन अङ्गुर र २६ करोड ५२ लाख ४८ हजार मूल्य बराबरको दुई हजार सात सय ६३ मेट्रिकटन अनार आयात भएको छ ।

पछिल्लो समय पूर्वी नेपालको इलाम, पाँचथर, धनकुटा, तेह्रथुमलगायत जिल्लामा किबी र झापा, मोरङ, सुनसरीलगायत विभिन्न जिल्लामा ड्रागन फलको व्यावसायिक खेती हुन थाले पनि भारतबाट आउने ती फलफूलको आयात भने रोकिन सकेको छैन ।

मा प्रकाशित