२६ साउन, काठमाडौं । नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष चन्द्रप्रसाद ढकालले प्राधिकरणले आवश्यक पर्दा मात्रै बिजुली किन्ने गरेकोले सबै उत्पादित बिजुली बिक्री गर्न नपाउँदा लगानीकर्ता समस्यामा परेको बताउनु भएको छ ।
नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष चन्द्रप्रसाद ढकाल नेतृत्वको पदाधिकारी टालीसँग शुक्रवार ऊर्जा मन्त्रालयमा भएको छलफलमा अध्यक्ष ढकालले दोर्दी करिडोरमा प्रसारण लाइनको समस्याका कारण सञ्चालित आयोजना पूर्ण क्षमतामा चल्न नसकेको बताउनु भयो ।
अध्यक्ष ढकालले निजी क्षेत्रलाई उर्जाका लगायतका क्षेत्रमा लगानीका लागि उत्प्रेरित गर्न ऊर्जामन्त्रीलाई आग्रह गर्नुभयो ।
सो अवसरमा महासङ्घका अध्यक्ष ढकालले ऊर्जा उद्यमीले बेहोर्नुपरेको समस्या समेटिएको ज्ञापनपत्रसमेत मन्त्री बस्नेतलाई बुझाउनु भएको थियो ।
छलफलमा ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री शक्तिबहादुर बस्नेतले ऊर्जा क्षेत्रमा देखिएका समस्या सामूहिकरूपमा समाधान गर्ने बताउनु भयो ।
उर्जा मन्त्री बस्नेतले सरकार र निजी क्षेत्रको सामूहिक प्रयासबाट मात्रै उर्जा क्षेत्रका सबै समस्याको निरुपण हुने बताउनुभयो ।
सरकार र निजी क्षेत्रको सार्थक प्रयासबाट मात्रै ऊर्जा क्षेत्रको बृहत्तर विकास र विस्तार हुने तथा नयाँ अवसरको सिर्जना हुने मन्त्री बस्नेतले भनाइ थियो ।
उहाँले आन्तरिकरूपमा नदी करिडोरलाई केन्द्रमा राखेर चार सय केभी क्षमताका छ वटा प्रसारण लाइन निर्माणका लागि आवश्यक प्रक्रिया अगाडि बढाइएको र त्यसले केही समयभित्रै सार्थकता पाउने बताउनुभयो ।
ऊर्जामन्त्री बस्नेतले निजी क्षेत्रलाई प्रसारण लाइन निर्माण तथा विद्युत् व्यापारमा सहभागी गराउने उद्देश्यका साथ सरकारले नीतिगत प्रबन्ध गर्न लागेको स्पष्ट पार्नुभयो ।
आन्तरिकरूपमा खपत गरेर बढी भएको बिजुली मात्रै निकासी गर्ने सोचका साथ सरकारले काम गरिरहेको मन्त्री बस्नेतको भनाइ छ ।
मन्त्री बस्नेतले विराटनगर, विरगञ्जलगायतका औद्योगिक क्षेत्रमा देखिएको बिजुलीको समस्या समाधान गर्न आफू तत्पर रहेको पनि उल्लेख गर्नुभयो ।
मा प्रकाशित